खुम्बुको जनजीवन कष्टकर : हिउँ पगालेर पानी

सोलुखुम्बु – पश्चिमी वायुको प्रभावले भएको हिमपातका कारण हिमाली जिल्लाको जनजीवन कष्टकर बनेको छ । यतिसम्म की, तातो पानी पिउनु परे यत्रतत्र जमेको हिउँ संकलन गर्नुपर्छ । संकलित हिउँ भाडोमा राखेर चुल्होमा ततायो । पानी, कफि, चिया बनाएर पियो ।

यहि यर्थाथ सोलुखुम्बुको नाम्चे क्षेत्रका सर्वसाधारणको दैनिकी बनेको छ । समुन्द्री सतहदेखि तिन हजार ४४० मिटरको उचाईमा अवस्थत नाम्चेबजारमा पानीको प्यास मेटाउन परे हिउँ पगालेर पिउनुपर्ने अवस्था सृजना भएको छ । ‘पिउनेपानीको पाईप जमेपछि धारामा पानी आउदैन्’, नाम्चे स्वास्थ्य चौकीका अहेव ल्हाक्पा शेर्पाले भने, ‘पानीको आवश्यकता पूर्तीका लागि हिउँको साहारा लिनुपरेको छ ।’ उपचारका लागी स्वास्थ्य संस्था आउनेलाई पनि हिउँ पगालेरै पानी दिने गरेको शेर्पाले बताए ।

केही हप्तादेखि खुम्बुको तापक्रम माईनसमा पुगेको छ । माईनस ३ देखि ५ सम्मको चिसो सामना गर्नुपर्ने बाध्यता सृजना भएको छ ।

शौचमा समस्या

अत्याधिक चिसोले चर्पीको प्यान शौचालय जमेपछि दिशापिसावका लागि समेत समस्या झेल्नुपरेको नाम्चेका सर्वसाधारणले बताए । ‘प्यानमा रहेको पानी जमेर निकासको अवस्था नरहेपछि मल चर्पीको प्रयोग गर्न बाध्य छौ ।’ एक स्थानीयले भने, ‘चिसोले शौच गर्न समेत निकै सास्ती खेप्नुपरेको छ ।’ उच्च हिमाल भेगमा चिसोयाममा मल चर्पी प्रयोग हुदै आएको छ ।

चिसोले हाटबजार लागेन

चिसोकै कारण हरेक शुक्रबार र शनिबार नाम्चेमा लाग्ने हाटबजार समेत लाग्न सकेन् । वितेको हप्ता बजार बस्न नसक्दा तरकारीको समस्या देखिएको छ । नाम्चे, खुम्जुङ, खुन्दे, पाङबोचे, तेङबोचे, थामे, थमो लगायतका वस्तिका सर्वसाधारण बजार भर्नका लागि नाम्चे झर्ने गर्छन् ।
हिउँ पर्ने पग्लने क्रम जारी रहेकाले जनजीवन कष्टकर बनेको हो । खुम्बु क्षेत्रमा जिल्लाको तल्लो क्षेत्रमा उत्पादन गरिएको तथा काठमाण्डौबाट निर्यात गरिएको तरकारी खरिद बिक्रि हुदै आएको छ ।

विद्युतले राहत

अत्याधिक चिसोले कष्टकर बनेको जनजीवनलाई विद्युतको कारणले केही राहत दिलाएको छ । थामे हाईड्रोपावरले वितरण गरेको विद्युत प्रसारणमा लोडसेडिङ नभएकाले हिटर बाल्न पाएको नाम्चेबाट जसराज राईले बताए । ‘विद्युत पनि नभएको भए निकै मुस्किल पथ्र्यो ।’ राईले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार