उत्सबकै रुपमा महाकुलुङ कृषि मेला (फोटोफिचर)

  शिखर गजरकोटे

सोलुखुम्बु, माघ ४ – सामान्यतया कृषि मेला प्रर्दशनमा कृषकले आफ्ना उत्पादन ल्याउछन्, प्रर्दशन गर्छन्, प्राविधिकको मुल्यांकनको आधारमा नगद पुरस्कार लिन्छन्, फर्कन्छन् तर सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा अलि फरक अभ्यास गरियो । माघेसक्रान्ति वा माघ १ गते कृषकहरु र सरोकारवालाहरु मिलेर उत्सबकै रुपमा मनाए ।

जि फाउण्डेशन र कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग र महाकुलुङ गाउँपालिका अन्तरगत कृषि शाखा र पहाडी विकास तथा संरक्षण समूह नेपाल बुङको आयोजनामा सम्पन्न कृषि उत्सबमा कृषि उत्पादनको प्रर्दशनसंगै कृषकहरु कृषि गीतमै छमछमी नाचेका छन् । त्योपनि आफैँले गाएर । उनीहरु कुलुङ जातीको भेषभुषामा कृषि औजार प्रयोग गरेर नाच्दै गाउदै रमाएका मात्र थिएनन्, उनीहरुले कृषकको पहिचान पनि बढाएका थिए ।

कृषि गीत र नाच मात्रै आकर्षणको विन्दु रहेन्, अर्गानिक कृषि र सम्बृद्ध महाकुलुङ शिर्षकमा गरिएको वक्तृत्वकलाले विद्यार्थीलाई कृषिसंग जोड्ने कोशिसलाई पनि धेरैले प्रशंसाको विषय बनाए । ७ विद्यालयका छात्रछात्रा सहभागी वक्तृत्वकलामा कृषिको माध्यमबाट सम्बृद्ध महाकुलुङ निर्माण कसरी बनाउन सकिन्छ भन्ने कुरालाई समाबेश गरेका थिए ।

कृषि उपजको आधारमा प्रथम हुनेलाई लुज पाईप र स्प्रेयर, द्धितीय हुनेलाई स्प्रेयर र हजारी तथा तृतीय हुनेलाई हजारी पुरस्कार वितरण गर्नुले पनि नयाँ परम्पराको शुरुवात गरेको छ । हरेक बर्षको माघ १ गते कृषि उत्सबको आयोजना गर्ने परम्पराको शुरुवातले पनि अर्गानिक उत्पादनले महाकुलुङलाई आत्मनिर्भर बनाउने स्थानीय सरकारको सोचलाई सार्थक बनाउन सहयोग मिल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार