‘शिक्षक साथीहरु, ज्ञानमारा नबन्नुस् !’

  सुमेरु संबाददाता

सोलुखुम्बु, माघ १२

‘मान्छे मारे ज्यानमारा, ज्ञान मार्ने ज्ञानमारा, सैद्धान्तिक ज्ञानलाई व्यवहारसंग जोडिदिनुस् । समायानुकुल शिक्षा नदिने हो भने तपाईहरु ज्ञानमारा हो । शिक्षकज्यू, ज्ञानमारा नबन्नुस्’ यो भनाई शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईरालाको हो । आईतबार सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले मुक्लिमा सामुदायिक विद्यालयको सवलीकरणका लागि आयोजना गरेको ‘शिक्षा सम्मेलन’मा मुख्य वक्ताको रुपमा बोल्दै शिक्षाविद् प्रा.डा. कोईरालाले गुणस्तरिय शिक्षाका लागि शिक्षक पहिले प्रविधिमैत्री बन्नुपर्ने बताए । ‘जबसम्म शिक्षक आँफै प्रविधिमैत्री छैन् भने विद्यार्थीलाई कसरी सिकाउने ?’ उनले भने, ‘व्यवहारिक शिक्षा प्रदानका लागि शिक्षक तयार हुन आवश्यक छ ।’

गाउँपालिका भित्रका आधारभूत र माध्यमिक विद्यालयका प्रध्यानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष सहभागी कार्यक्रममा प्रा.डा.कोईरालाले अध्यापनको शैली परिर्वतन गर्न आग्रह गरे । उनले भने, ‘अब पढाउने हैन, सिकाउने हो । त्यसको लागि शिक्षकले शिक्षण शैलीमा परिर्वतन ल्याउन आवश्यक छ ।’ शिक्षाविद् कोईरालाले स्थानीय पाठ्यक्रम निर्माण गरेर स्थानीय संभावना र मौलिकतालाई दर्शाउन सुझाव दिए । उनले सम्मेलनमा शिक्षक नियुक्ति, सरुवा, अनुगमन, सुपरिवेक्षण, पुरस्कार तथा दण्डको व्यवस्थापन लगायतका विषयमा ग्रामिण परिवेश सुहाउदो विकल्पहरु प्रस्तुत गरेका थिए । कोईरालाले शिक्षकलाई अनुसन्धानकर्ता बन्न र प्रध्यानाध्यापकलाई शैक्षिक सुधारको नेतृत्व लिन सुझाए ।

गाउँपालिका अध्यक्ष असिम राईले शिक्षाको सुधार पहिलो प्राथमिकतामा रहेको बताउदै शैक्षिक सुधार अपरिहार्य रहेको बताए । विद्यालयको व्यवस्थापन र शैक्षिक उपलब्धिका लागि उपयुक्त योजना आए लगानीको खाँचो हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘उपलब्धिको सुनिश्चित हुने गरि योजना ल्याउनुस्, लगानीको खाँचो हुन दिन्न ।’ उनले सामुदायिक विद्यालयको स्तर जरुर उकास्न आवश्यक रहेको बताए ।

सम्मेलनमा काठमाण्डौ महानगरपालिका कलंकीमा संचालित नेपालकै सर्बोत्कृष्ट सामुदायिक विद्यालयका ज्ञानोदय माविका प्रध्यानाध्यापक नातिकाजी महर्जनले आफ्ना विद्यालयका सफल अभ्यासका अनुभव सुनाएका थिए । सोमबारसम्म चल्ने सम्मेलनमा स्थानीय सरकार, प्रध्यानाध्यापक र व्यवस्थापन समितिले गर्ने जिम्मेवारी तय गरिने र कार्य सम्पादन सम्झौता गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार