शैक्षिक सुधारका लागि सामुदायिक विद्यालयका प्रध्यानाध्यापकसंग कार्यसम्पादन सम्झौता

उत्कृष्ट प्रअलाई एक लाख पुरस्कार

  सुमेरु संबाददाता

सोलुखुम्बु – शैक्षिक सुधारका लागि सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले प्रध्यानाध्यापकहरुसंग कार्यसम्पादन सम्झौता गरेको छ । सामुदायिक विद्यालयको सवलीकरणका लागि मुक्लिमा आयोजित शिक्षा सम्मेलनको अबसरमा गाउँपालिकाले ५२ सामुदायिक विद्यालयका प्रध्यानाध्यापकसंग कार्यसम्पादन सम्झौता गरेको हो ।

सोमबार गरिएको सम्झौतामा एक महिना, ६ महिना र एक बर्ष भित्र गाउँपालिका र प्रध्यानाध्यापकले गर्नुपर्ने कामको फेयरिस्त उल्लेख गरिएको छ । २०७७ माघ मसान्तसम्मको अवधिमा सम्झौतापत्रमा उल्लेख बुँदाहरु कार्यान्वयनमा ल्याईसक्नुपर्ने प्रावधान राखिएको छ ।

एक महिना भित्र प्रध्यानाध्यापकहरुले आफ्नो विद्यालयलाई पुर्ण सरसफाईन्मुख विद्यालय घोषणा गर्नुपर्ने, विद्यालयमा रहेका भौतिक संरचना, प्रयोगशाला, कम्प्यूटर ल्याव, पुस्तकालयको उचित प्रयोग गर्ने, शिक्षक, विद्यार्थी, अभिभावक आँचारसंहिता निर्माण गरि लागु गर्नुपर्नेछ भने पठनपाठन र अतिरिक्त क्रियाकलापको योजना बनाई कार्यान्वयन शुरु गर्नुपर्ने, पोशाक अनिवार्य गर्ने, शिक्षकको कार्यविभाजन गर्ने, सहायक प्रध्यानाध्यापक नियुक्ति गर्ने लगायतका काम गरिसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

छ महिना भित्र गर्नुपर्ने गरि सम्झौतामा विद्यालय सुधार योजना निर्माण गरि लागु गर्ने, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकको भेला चौमासिक रुपमा डाक्ने र सार्वजनिक सुनुवाई गर्ने, हरेक महिना स्टार्फ मिटिङ, हरेक २ महिनामा शिअसंघको मिटिङ र विद्यालयको प्रगती विवरण गाउँपालिकामा बुझाउने, विद्यालयमा मद्यपान तथा धुम्रपानलाई बन्देज लगाउने लगायतका काम गर्नुपर्ने गरि प्रध्यानाध्यापकसंग सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए ।

एक बर्षभित्र अनुशासित शैक्षिक वातावरण निर्माण गरि सिकाई उपलब्धि औसतमा ६० प्रतिशत पु¥याउनुपर्ने, चुस्त अभिलेखकरण, अभिभावक, शिक्षक, विद्यार्थी बीच पारस्परिक सम्बन्धको वातावरण तयार पार्ने, विद्यार्थी टिकाउने र सिकाउने वातावरण निर्माण गर्ने लगायतका बुँदा कार्यान्वयन गर्नुपर्नेछ ।
सम्झौतामा उल्लेख बुँदाको कार्यान्वयन भए नभएको बारे गाउँपालिकाले निरन्तर मुल्यांकन गर्ने र सम्झौता अनुसार न्यूनतम ५० प्रतिशत पनि प्रगती नभए उक्त प्रध्यानाध्यापकलाई हटाउन सक्ने सम्झौतामा उल्लेख गरिएको छ । सम्झौता कार्यान्वयनमा उत्कृष्ट बनेका प्रध्यानाध्यापकलाई गाउँपालिकाले एक लाख नगद सहित पुरस्कृत गर्नेछ । प्रध्यानाध्यापकसंगको कार्यसम्पादन सम्झौतापछि बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले सम्झौता कार्यान्वयनमा उत्कृष्ट बन्ने प्रध्यानाध्यापकलाई एक लाख पुरस्कार प्रदान गरे घोषणा गरेका हुन् ।

कार्यसम्पादन सम्झौताले प्रध्यानाध्यापकहरुबीच विद्यालयको व्यवस्थापन र शैक्षिक सुधारका काममा प्रतिस्प्रर्धा चल्ने आशा राखिएको छ । चालु शैक्षिक सत्रलाई सुधार बर्ष घोषणा गरेर अघि बढेको गाउँपालिकाले शिक्षक सरुवा, विद्यालय मर्ज लगायतको काम गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार