दुधकोशी २ (जलेश्वर)को पुरक वातावरणीय प्रभाव मुल्यांकन विषयक सार्वजनिक सुनुवाई

  सुमेरु संबाददाता

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले स्थानीय सरकारसंग समन्वय गरेर सामाजिक उत्तरदायित्ववापत्को रकम खर्च गरिने गरि वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनमा व्यवस्था गर्न सुझाव दिए ।

सोमबार दुधकोशी हाईड्रोपावर प्रा.लि.को आयोजनामा बर्खुघाटमा भएको पुरक वातावरणीय प्रभाव मुल्यांकन विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष राईले दुधकोशी २ (जलेश्वर) जलविद्युत आयोजना निर्माणका क्रममा खर्च गरिने सामाजिक उत्तरदायित्व वापत्को रकम स्थानीय सरकारको समन्वयमा गरिनुपर्नेमा बताए ।

‘भारतीय कम्पनीले जिम्मा लिएको काम समयमै सकिदैन् भन्ने आरोप छ । आरोपलाई काम गरेर खण्डन गर्नुहुन अनुरोध छ । यो हाईड्रोपावरलाई स्थानीय सरकारले चासो दिएको छ ।’ उनले भने । पुर्वमाओबादीका हाईड्रो विभागीय प्रमुख समेत रहेका राईले दुधकोशीमा ७० मेगावाटको हाईड्रो सम्पन्न गर्न निकै चुनौतिको विषय भएको र संभाव्यता नभएर प्रभावित जनतालाई गुम्राहामा राखेर खेलवाट नगर्न समेत आग्रह गरे । ‘दुधकोशी २ बन्छ भने हाम्रो तर्फबाट पुरापुर सहयोग रहन्छ ।’ अध्यक्ष राईले भने । हाईड्रोपावर निर्माणका लागि लगानी भित्राउन इमानदार प्रयास गर्न अनुरोध गरे ।

सुनुवाईमा जनप्रतिनिधि तथा सरोकारवालाहरुले वडा नं ६ मुक्ली र वडा नं ८ देउसालाई अतिप्रभावितमा राख्नुपर्ने, माछा लोप हुने र माछा मारेर जीविका चलाउने परिवार विस्थापित हुनुपर्ने अवस्था, लगानीको सुनिश्चित गर्न, सुरुङ खन्दा अपनाउनुपर्ने सावधानी तथा संभावित क्षतिलाई ध्यान दिनुपर्ने लगायतका सुझाव दिएका छन् ।

कार्यक्रममा वातावरणविद् सलिल देवकोटाले पुरक वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन जनतामाझ प्रस्तुत गरेका थिए । खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने रबुवाघाटमा नेपाल विद्युत प्राधिकरणको लगानीमा बन्ने दुधकोशी जलाशययुक्त आयोजना (६३५ मेगावाट)का कारण दुधकोशी २ (जलेश्वर) जलविद्युतको क्षमता २३० बाट ७० मेगावाटमा झारिएको थियो । २३० मेगावाट जलविद्युत आयोजनाको वातावरणय प्रभाव मुल्यांकन सन् २०१५ मै स्विकृत भएपनि क्षमता परिर्वतन भएका कारण पुरक प्रभाव मुल्यांकन गर्नुपरेको हो । साढे १४ अर्ब लगानीमा सम्पन्न हुने आयोजनाको प्रभावित क्षेत्र थुलुङ दुधकोशी गाउँपालिका मात्र पर्दछ ।

दुधकोशी हाईड्रोपावर प्रा.लिका जनसम्पर्क अधिकृत जनक खनालले सुनुवाई कार्यक्रमबाट आएका सुझावलाई समावेश गरि प्रतिवेदनलाई पुर्णता दिने र प्रभावित नागरिकलाई सजिलो हुनेगरि आयोजना निर्माणको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । थुलुङ दुधकोशी गाउँपालिका ७ देउसा र वडा नं ५ जुबुको सिमानामा बाँध निर्माण हुने आयोजनाको विद्युत गृह वडा नं ४ जुबु क्षेत्रमा निर्माण गरिनेछ । आयोजनाको ३.४ कि.मि. सुरुङ खनिनेछ । वडा नं ४, ५ र ७ लाई अति प्रभावितको सूचीमा राखिएको छ । काम शुरु भएको ५ बर्षमा निर्माण सम्पन्न गर्ने राखिएको आयोजनाले बार्षिक ४३० गिगावाउट घण्टा विद्युत उत्पादन गर्नेछ ।

आयोाजना क्षेत्रमा ११ प्रकारका रुखहरु (साल, चिलाउने, सल्लो, अमला, पिपल, मौवा, लाम्पाते, कुट्मेरो, मलेतो आदी), १५९ प्रकारका पुष्पहरु, २५ प्रकारका झाँडीहरु, ५६ प्रकारका जडिबुटीहरु पाईन्छन् । दुधकोशी नदिमा ६ प्रकारका माछा (असला, कत्ले, काप्रे, तिते आदी)पाईन्छन् । ति माछाको संरक्षणका लागि पनि आवश्यक काम गरिने वातावरणीय प्रभाव मुल्यांकनको मस्यौदा प्रतिवेदनमा उल्लेख छ ।

आयोजना क्षेत्रमा वनढाडे, चितुवा, बाँदर, घोरल, मृग, थार आदी वन्यजन्तु पाईन्छन् भने बकुल्ला, हुचिल, चिवे, कोईली, जुरेली, काग आदी चराचुरुङगी पाईने प्रतिवेदनमा समाबेश छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार