दुधकोशीमा ह्यूमपाईप राखिएपछि सल्लेरी–खरिखोला दुरी छोटियो

पुल निर्माणको वातावरण बनाउछु – मेयर शेर्पा

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुको जुभिङ, खरिखोलाका सर्वसाधारण ६ घण्टामै सदरमुकाम सल्लेरी आउन थालेका छन् ।

सोलुदुधकुण्ड नगरपालिकाले वडा नं १ टाक्सिन्दु र माप्यदुधकोसी गाउपालिका १ जुभिङ जोड्ने गरि सिर्दिघाट स्थित दुधकोशी नदिमा ह्यूमपाईप राखिदिएपछि अधेँरी–बासा–काँकु हुदै ८ घण्टा लगाएर सल्लेरी आउने त्यसभेगका सर्वसाधारणको दुरी छोटिएको हो । अहिले सजिलै ६ घण्टामा सल्लेरी आईपुग्ने वातावरण बनेको छ ।

नगरपालिकाले १३ लाखको लागतमा ८ वटा ह्यूमपाईप राखेर दुधकोशीको पानीलाई निकास दिएपछि विहान सल्लेरी आएर फर्कने अवस्था बनेको सवारी चालक जीवन राईले बताए । उनले भने, ‘सल्लेरी–टाक्सिन्दु–फुलेली हुदै दुधकोशी पारीसम्मको यात्रा निकै सहज भएको छ । आवतजावतमा ४ घण्टा समय बचत भएको छ ।’ अहिले सल्लेरी–टाक्सिन्दु ६ सय, सल्लेरी–नुनुथला एक हजार र सल्लेरी–खरिखोला १५ सय भाडामा साना सवारीले यात्रु बाक्दै आएका छन् ।

पर्यटकीय पदमार्ग भएकालेपनि खुम्बु क्षेत्र प्रवेशका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलो भएको टाक्सिन्दुका वडासदस्य पासाङ शेर्पाले बताए । ‘अहिले यात्रुहरुको समयको बचत भईरहेको छ । यो सडक प्रयोग गर्दा यात्रुहरुलाई खाना, खाजा र बास बस्नका लागि उचित होटलपसलको समेत सुविधा छ ।’ उनले भने ।

मोटरेबल पुल बन्ने
सिर्दिघाटस्थित दुधकोशीमा मोटरेबल पुल निर्माण हुदैछ । १८ महिना अघि टेण्डर आब्हान भएको पुलको काम महादेव खिम्ती हिराचन जेभीले पाएको छ । ६ करोड हाराहारीमा पुल निर्माणको जिम्मा लिएपनि हेवी लोडेड गाडी चल्ने सडक अभावमा काम अघि बढ्न नसकेको निर्माण कम्पनीले जनाएको छ ।

‘६ मिटरको सडक पुगिसकेको भनेर टेण्डर आब्हान गर्नुनै गल्ती थियो । पुलको टेण्डर पाएपछि स्थलगत सर्वेक्षण गर्दा सडक नै नरहेकोले काम अघि नबढेको हो ।’ कम्पनी संचालक रवि सिंहले भने, ‘पटक पटक पुल आयोजना महाशाखासंग छलफल भएको छ । सडकका विषयमा सडक डिभिजनलाई जानकारी गरेको छु । सोलुदुधकुण्ड नगरपालिकाको नेतृत्वुंग पनि छलफल भएको छ ।’

केहि हप्ता अघि मात्र स्थलगत सर्वेक्षण गरिएको र त्यसको प्रतिवेदन आईसकेपछि स्वाइल टेष्टको काम अघि बढाउने संचालक सिंहले बताए । त्यसपछि मात्र पुलको डिजाईन बन्ने उनको भनाई छ । ‘डिजाईनको काम सकिएपनि १७ टन क्षमताका गाडी गुड्ने सडक नभए काम गर्न सक्दैनौ ।’ उनले भने ।
यथासिघ्र पुल निर्माणको लागि सोलुदुधकुण्ड नगरपालिकाले पहल गरिरहेको छ । मेयर नाम्गेल जाङबु शेर्पाले पुल निर्माणको लागि हरदम कोशिस जारी राखेको बताए ।

उनले भने, ‘निर्माण कम्पनीसंग पटक पटक बसेर छलफल गरेको छु । सडक विना काम अघि नबढ्ने भएपछि आवश्यक मेसिन सडक चौडाका लागि पठाईसकेको छु । सडक विभाग, निर्माण कम्पनी, विभागीय मन्त्रीसंग छलफल गरेर आएको छु । पुल निर्माणको काम अब अघि बढ्छ ।’ यथासिघ्र मोटरेबल पुल निर्माणको वातावरण बनाउने मेयर शेर्पाले बताए ।

सिर्दिघाटमा पुल बन्न सके आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई सल्लेरी आवतजावत र खुम्बु प्रवेशका लागि दुरी छोटो पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार