सोलुदुधकुण्ड नगरपालिकाले क्वारेनटाइन स्थापना गर्ने

  सुमेरु संबाददाता

सोलुखु्म्बु – कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै सोलुदुधकुण्ड नगरपालिकाले सल्लेरीमा क्वारेनटाइन स्थापना गर्ने भएको छ ।

कोरोना संक्रमित पहिचान भए सुरक्षित उपचारका लागि राख्ने गरि सल्लेरीमा रहेको कर्मचारी आवास गृहमा क्वारेनटाइन स्थापना गर्ने तयारी गरेको मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए । उनले भने, ‘सक्रमण भएपछि अत्तालिनु भन्दा पुर्वतयारी उत्तम ठानेर क्वारेनटाइन स्थापना गर्दैछौ ।’ भौगोलिक हिसावले पनि कर्मचारी आवास भवन उपयुक्त रहेको मेयर शेर्पाको भनाई छ ।

जनस्वास्थ्य आपत्कालिन व्यवस्थापन समितिको सोमबार बसेको वैठकले क्वारेनटाइन स्थापनाको लागि कर्मचारी आवास भवन उपयुक्त भएकाले शहरी विकास तथा भवन विभागसंग अनुमतिको प्रक्रिया अघि बढाएको र कम्तीमा एक हप्ताभित्र क्वारेनटाइन निर्माण गरिसक्ने स्वास्थ्य शाखा प्रमुख चमर मगरले जानकारी दिए ।

प्रयोगविहिन १६ कोठे भवनको सोमबार प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, स्वास्थ्य शाखा संयोजक मगर लगायतले अनुगमन समेत गरेका छन् । भवन सल्लेरी बजार देखि झण्डै ५ सय मिटर तल (सोलु खोला नजिक) निर्माण गरिएको छ ।

कोरोना भाइरसको संक्रमण जोखिमलाई ध्यानमा राख्दै नगरपालिकाले विद्यालय तथा सामुदायीक सचेतना कार्यक्रम समेत शुरु गरेको छ । केही दिनअघि तामाखानीमा सामुदायीक सचेतना कार्यक्रम सम्पन्न गरेको नगरले सोमबारजनजागृती माविका शिक्षक तथा विद्यार्थीको उपस्थितीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

क्रमश : अन्य वडाका विद्यालयमा पनि सचेतना कार्यक्रम संचालन गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

भवन अनुगमनको तस्विरहरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार