कविता : म ममबत्ति

  लेखिका - डा. रेणुका 'सोलु'

मलाई तिमी उडेको मनपर्छ
जसरी उड्छ्न् चराहरू
आकाशतिर
मलाई तिमी हिंडेको मनपर्छ
जसरी हिँड्छन् यात्रीहरू
गन्तव्यतिर
मलाई तिमी हाँसेको मनपर्छ
जसरी हाँस्छ हिमाल
घामको पहिलो किरण मिसिएर
कञ्चन
मलाई तिमी नाचेको मनपर्छ
जसरी नाच्छ मयुर नदिको किनारामा
उमङ्गको नृत्य
तिम्रो आँसु हेर्ने मेरो रहर होइन
तिम्रो मन दुखाउने मेरो लक्ष्य होइन

त्यसैले पृयतम्
नबर्षाउ आँखाबाट वेदनाको वर्षा
तिम्रो खुसीका लागि
वर्षाउनु परे
मसङ्ग आँसुको महासागर छ
तप्प तप्प चुहिनुको के अर्थ
कथाले माग्यो भने
मूल फुटाउँला भेलको
र बगाउँला तिम्रा सबै पिडाहरू
हिँड्दै गर्दा तिमी
तिम्रै जीवनको गोरेटोमा
औंशीको रात उभियो भने
चिन्ता नगर्नु
म ममबत्ती बलेर
त्यो रात भन्दा अग्लो उभिदिउँला
किनभने
म आफू सल्किएर
अरुलाई उज्यालो दिन बानी परिसकेकी छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार