यी हुन्, थुलुङ दुधकोशीको कोरोना सचेतना तथा नियन्त्रण पुर्वतयारीका निर्णयहरु

  सुमेरु संबाददाता

सोलुखुम्बु – कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आईतबार अध्यक्षस्तरको निर्णयबाट स्थानीय हाटबजार बन्द गर्ने निर्णय गरेको सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले कोरोना सचेतना र पुर्वतयारीलाई तिब्रता दिएको छ । सोमबार बसेको गाउँकार्यपालिकाको वैठकले ९ वटै वडामा विभिन्न विद्यालयको भवनलाई क्वारेनटाईनको रुपमा प्रयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

वडा नं १ मा जीवनज्योति मावि, वडा नं २ मा जीवनज्योति मावि, वडा नं ३ मा कालिकादेवी मावि, वडा नं ४ मा जनकल्याण मावि, वडा नं ५ मा हिमालय मावि, वडा नं ६ मा त्रिभुवन विद्योदय मावि, वडा नं ७ मा देउसा मावि, वडा नं ८ मा दुधकौशिका आवि र वडा नं ९ मा जनता माविको भवन क्वारेनटाइनमा प्रयोग गर्ने निर्णय गरिएको छ ।

गाउँपालिका अध्यक्ष असिम राईको संयोजकत्वमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समिति गठन गरिएको छ । उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा संयोजक र उपसंयोजकलाई सदस्य रहने सो समितिले जिम्मा भाइरस संक्रमण रोकथाम र सरल परिस्थिती व्यवस्थापनका लागि संघीय, प्रदेश, अन्य स्थानीय तह, जिल्ला स्थित सरोकारवाला निकायसंग समन्वय गर्नेछ ।

त्यस्तै, उपाध्यक्ष सविता राईको संयोजकत्वमा बजार अनुगमन तथा खाद्य सुरक्षा व्यवस्थापन समितिमा वडाअध्यक्षहरु, कार्यपालिका सदस्य बुद्धिराज राई, प्रहरी चौकीका प्रमुख, वडा सचिबहरु, गाउँ प्रहरी, उद्योग बाणिज्यका प्रतिनिधि सदस्य रहनेछन् । सो समितिले बजारमा हुने कालोबजारी, अनियमितताको अनुगमन गर्ने र अत्यावश्यक औषधी, खाद्य सुरक्षा व्यवस्थापन तथा समन्वय गर्नेछ ।

प्रमुख प्रशासकीय अधिकृत अविलाल राईको संयोजकत्वमा क्विक रेस्पोन्स टिम, सम्पुर्ण वडाअध्यक्षहरुको संयोजकत्वमा वडास्तरिय समन्वय समिति र शिक्षा शाखा प्रमुख प्रेम बहादुर तामाङको संयोजकत्वमा सचेतना समिति गठन गरिएको जानकारी दिईएको छ ।

वडास्तरिय समन्वय समितिले वैदेशीक रोजगारीबाट आएका नागरिकको तथ्यांक संकलन तथा रिर्पोटिङ, क्वारेनटाईन निर्माण लगायतको काम गर्ने गरि जिम्मेवारी तोकिएको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि कार्यपालिका सदस्यहरुले एक महिनाको सेवासुविधा र गाउँपालिकाले ५ लाख रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।

नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै स्थानीयस्तरमा उत्पादन गरिएको मास्क वितरण गर्ने तयारी गरिएको गाउँपालिका उपाध्यक्ष सविता राईले जानकारी दिईन् । वैठकले शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सम्बन्धि सामुदायीक विद्यालयहरुबाट परियोजना प्रस्ताव पेश गर्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार