सोलुदुधकुण्डको कार्यपालिका वैठक : कुन कुन विषयमा कस्तो निर्णय ? हेर्नुहोस्

  सुमेरु संबाददाता

सोलुखुम्बु – सल्लेरी स्थित कर्मचारी आवास गृहमा क्वारेनटाइन स्थापना गर्ने प्रक्रिया अघि बढाएको सोलुदुधकुण्ड नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० लाखको आकस्मिक कोष खडा गर्ने निर्णय गरेको छ । सोमबार बसेको नगरकार्यपालिकाको वैठकले नगरस्तरिय आकस्मिक कोष स्थापना गर्ने र वडामा समेत कोष खडा गरि समन्वयात्मक काम गर्ने निर्णय गरिएको हो ।

ओखलढुङगा र सोलुखुम्बुको सिमाना जन्तरधाप र फाप्लु विमानस्थलमा हेल्थ डेक्स स्थापना गर्ने, नगरपालिकाभित्र सञ्चालनमा रहेका एम्बुलेन्सलाई नगरपालिका मातहतमा ल्याई सञ्चालन गर्ने, स्थानीय हाटबजार बन्द गर्ने, नागरिकलाई सेल्फ क्वारेनटाईनमा बस्न आग्रह गर्ने, कालोबजारी सृर्जना गर्ने व्यापारीलाई कारबाही प्रक्रिया अगाडी बढाउने लगायतका निर्णय गरिएको प्रवक्ता शारदामाया तामाङले जानकारी दिईन् ।

कोरोना भाइरस संक्रमण जोखिमकै कारण चैत १५ गते निर्धारित नगर सभा स्थगित गरेको नगरपालिकाले मेयर नाम्गेल जाङबु शेर्पाको संयोजकत्वमा कोरोना भाइरस रोकथाम समन्वय समिति र वडाअध्यक्षको संयोजकत्वमा सम्बन्धित वडामा समन्वय समिति गठन गरिएको छ ।

कोरोना संक्रमितको शंका लागेमा उद्धार तथा क्वारेनटाइन र आईसोलेसन वार्डसम्म लैजान व्यवस्थापन समिति र आपतकालिन उद्धार समिति गठन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको संयोजकत्वमा व्यवस्थापन समिति र स्वास्थ्य संयोजक चमर मगरको संयोजकत्वमा आपतकालिन उद्धार समिति गठन गरिएको हो ।

वैठकले भाइरस संक्रमण हुन नदिन डि जम्मा हुने कार्यक्रम नगर्न र सहभागी नहुन, स्थानीय बजार, विवाह लगायतका कार्यक्रम नगर्न, सुरक्षाका लागि सेल्फ क्वारेनटाईनमा बस्न आग्रह गर्ने निर्णय लिएको छ । संकटको समयमा कालोबजारी गर्ने र दैनिक उपभोग्य सामाग्री अभाव सृजन ागर्नेलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।

कृषि शाखाको बार्षिक कार्यक्रम अन्तरगत ५ वटा कृषक समूहलाई एक लाखको दरले साना सिंचाई कार्यक्रम अनुदान दिने, प्रदेश सरकार अन्तरगत आर्थिक मामिला तथा योजना मन्त्रालयमा शालावेशी खोला बेलिब्रिज, ज्वालामाई मन्दिर पुर्वाधार निर्माण र हेवाखोला बेलिब्रिज निर्माण योजनालाई समपुरक अनुदानका लागि कार्यक्रम पेश गर्ने निर्णय गरिएको छ भने अपर जुनवेशी साना जलविद्युत आयोजनाको मिङमार दोर्जी शेर्पा अध्यक्ष रहेको नयाँ उपभोक्ता समितिलाई सदर गरिएको छ ।

वैठकले स्थानीय, सल्लेरी च्याल्सा र नगरपालिकाको साझेदारीमा वडा नं ५ स्थित कुनिखोप लगायतका स्थानमा लागत अनुमानको आधारमा काम थाल्ने र वडा नं ११ तिङलाको मतदाता नामावली प्रदेश सभा सदस्य ‘ख’ सोलुदुधकुण्ड नगरपालिकामा समाबेश गर्न निर्वाचन आयोगलाई पठाउने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार