किवि कृषक ओङडा भन्छन्, ‘किवि बारीमा नडुले मनै मान्दैन्’

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ७ गार्माका ओङडा शेर्पा उमेरले ७० बर्ष पुगे । २०७१ सालमा २८ रोपनीमा लगाएको ८० बोट किविको बोटले राम्रो उत्पादन दिएपछि उनी फुरुङ छन् ।

रोप्दा अलिधेरै मेहनत चाहिने किवि खेतिका लागि बार्षिक रुपमा सिंचाइ र काटछाँटको बेलामा थोरै समय खर्चनुपर्छ । तिन बर्ष देखि आम्दानी लिन थालेका उनले यो बर्ष सबैभन्दा बढि आम्दानी लिए ।

गत बर्ष ४५ हजार मात्र आम्दानी लिएका उनले यो बर्ष डेढ लाखको हाराहारीमा किवि बेचे । एउटै बोटबाट ५७ किलो उत्पादन लिएका उनले केही किवि झापासम्म निर्यात गरे । अहिलेपनि स्टोर गरेर राखिएको किवि विक्रि गर्दैछन्, ओङडा ।

‘म र श्रीमती मिलेर किवि खेतिमा व्यस्त बनेका छौ ।’ उनले भने, ‘बागबानी केन्द्र फाप्लुबाट किवि खेतिको तालिम पाए, दैनिक किवि बारीमा नडुलेसम्म मनै मान्दैन् ।

ओङडाले एलिसन जातको किविको बोटमा हेवाडलाई नर्सरी गरे । त्यो पनि आफैँले, ‘दिल दिईयो भने गर्न सकिदो रैछ ।’ उनले भने । किविबाट आम्दानी लिन थालेपछि उनले एक सयबोट हेवाड जातको किवि समेत विस्तार गरेका छन् ।

स्याउको बोटले उत्पादन दिन छाडेपछि स्याउ मास्दै उनले किविलाई विस्तार गरेका हुन् । फूल खेलेको स्याउ फल नबस्ने भएपछि खरबाट पनि केही आम्दानी थप्छन्, उनी ।

उमेर छदा मूलबाटोमा होटल र मिल चलाएका ओङडालाई गाउँ नै प्यारो लाग्छ । छोराहरुले आरामको लागि काठमाण्डौ जाम भनेपनि उनीहरु मान्दैनन् । बरु, विहान देखि साँझ सम्म व्यस्त रहन किवि खेतिलाई बढवा दिईरहेका छन् ।

उनलाई किवि विक्दैन कि भन्ने चिन्तै लाग्दैन् । उनले भने, ‘किविको महत्व बुझ्नेले घरै आएपनि किवि लाग्न्छन्, नबुझ्नेले विस्तारै बुझ्लान् पनि ।’ किविको स्वाद बसाल्न गाउँघरका मानिसलाई चाख्नका लागि फिरीमा किवि दिन्छन्, उनी ।

उनले किविको छहारीमा आलु पनि रोपेका छन् । किविसंगै आलुको मिश्रीत खेतिबाट बार्षिक आम्दानी थप गरेका छन् । दुई बर्ष देखि आलुको उत्पादन पनि लिईरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार