थुलुङ दुधकोशीद्धारा ३३५ नागरिकको उद्धार

  सुमेरु संबाददाता

सोलुखुम्बु – कोरोना जोखिम कम गर्न सरकारले चालु गरेको लकडाउन अवधिमा समस्यामा परेका ३३५ आफ्ना नागरिकलाई सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले उद्धार गरेको छ ।

लकडाउन लम्बिदै गएपछि गाउँ फर्कन चाहने नागरिकलाई गाउँपालिकाले शुक्रबार साँझ बस र सुमो जीपको माध्यमबाट गाउँपालिका ल्याएको हो । अनलाइन फारमबाट तथ्यांक संकलन गरेको गाउँपालिकाले फारम भरेका मध्येबाट सट लिष्टिङ गरेर करिब एक हजार नागरिकको उद्धार गर्ने तयारी गरेको छ । दुई हजार भन्दा बढि नागरिकले गाउँ फर्कने चाहना सहित फारम भरेका थिए ।

‘शनिबार पनि दुई सयको हाराहारीमा नागरिक सोलु पठाउदैछौ’ नागरिक उद्धारका लागि काठमाण्डौमा रहेका गाउँपालिका अध्यक्ष असिम राईले भने, ‘आइतबार र सोमबारसम्ममा उद्धारको काम सक्ने कोशिश गरिरहेका छौ ।’ जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा पहिले विपदमा परेका नागरिकलाई राहत र उद्धारको घोषणा गरेको गाउँपालिकाले निशुल्क आफ्ना नागरिकलाई गाउँ ल्याएको हो ।

अध्यक्ष राईले भने, ‘स्थानीय सरकारको दायित्व प्रत्याभूति गराएका हौ ।’ शुक्रबार साँझ उद्धार गरि सोलु पठाएका ३३५ जना (१६९ महिला र १६६ पुरुष)लाई गाउँपालिका प्रवेशद्धार भित्तेमा स्वास्थ्यकर्मीको टोली परिक्षण गरेर गाउँ पठाईएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले बताए ।

गाउँपालिकाले गाउँ फर्केका नागरिकलाई इमानदारीपुर्वक कम्तीमा १४ दिन होम क्वारेन्टीनमा बस्न आग्रह गरेको छ ।

उद्धारले दिलायो खुसी

लोखिमका सोनाम फुर्वा शेर्पाले निशुल्क गाउँ फर्कन पाएकोमा खुसी व्यक्त गरे । सिजनमा ट्रेकिङ गरेर कमाउने शेर्पा लकडाउनकै कारण काठमाण्डौ रोकिएका थिए । उनले भने, ‘जनप्रतिनिधिले आँट गरेर हाम्रो उद्धार गर्नुभयो । हामी निकै खुसी छौ । उहाँहरुलाई धन्यवाद छ ।’ गाउँमा पुगेपछि १४ दिन होम क्वारेन्टाइनमा बस्ने मनस्थितीमा रहेको उनले बताए ।

लोखिमकै विना राई पनि गाउँ फर्केकी छिन् । लकडाउन लागु भएकै केही दिनमा गाउँ फर्कन चाहेकी उनी काठमाण्डौमै रोकिएकी थिईन् । स्थानीय सरकारको निर्णयले परिवार नै खुसी रहेको उनले बताईन् । उनले भनिन्, ‘शुरुशुरुमा त ठिकै थियो । लकडाउन लम्बिदै गएपछि काठमाण्डौको बसाई कष्टकर बन्दै गएको थियो । घर आउन पायौ, खुसी छौ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार