कृषकलाई टिस्यू कल्चर प्रविधिको ज्ञान र सीप

कृषक भन्छन्, ऊर्जा थपियो

  शिखर जंग श्रेष्ठ

सोलुखुम्बु, चैत्र १५

टिस्यू कल्चर प्रविधिको बारेमा ज्ञान र सीप पाएपछि कृषकले ऊर्जा थपिएको बताएका छन् । बागबानी केन्द्र फाप्लुको आयोजनामा विउ आलु उत्पादन प्रविधि सम्बन्धि जिल्लास्तरको कृषक गोष्ठीमा सहभागी कृषकले नयाँ प्रविधिको ज्ञानले आलु खेतिमा हौसला थपिएको बताएका हुन् ।

गोष्ठीमा जिल्लाका चार स्थानीय तहका कृषक र कृषि प्राविधिकहरुको सहभागीता रहेको थियो । उनीहरु सोलुदुधकुण्ड नगरपालिका, नेचासल्यान, थुलुङ दुधकोशी र माप्यदुधकोशी गाउँपालिकाबाट सहभागी भएका हुन् । स्थानीय स्तरमा आलु उत्पादनलाई बढवा दिदै आम्दानीको बलियो स्रोत बनाउनका लागि टिस्यू प्रविधि बारे जानकारीले महत्वपुर्ण भूमिका खेल्ने उनीहरुले बताएका छन् ।

सोलुदुधकुण्ड नगरपालिका ७ गार्माका कृषक तारा राईले सैद्धान्तिक र प्रयोगात्मक ज्ञान र सीप पाएपछि आलु उत्पादनका लागि टिस्यू कचर प्रविधि अपनाउन सक्ने बताईन् । उनले भनिन्, ‘परम्परागत रुपमा स्थानीय जातको आलु रोप्दै आएका कृषकलाई यो प्रविधिले बढि लाभ दिने भएकाले पनि आलु उत्पादक कृषकहरुलाई ज्ञान र सीप प्रदान गर्दा राम्रो हुने देखियो ।

कृषकलाई आलुको विउ उत्पादनका लागि गरिएको प्रयोगात्मक सीप सिकाईदै

नेचासल्यान गाउँपालिका २ सल्यानका कृषक थिर प्रसाद निरौलाले उत्पादकत्व बृद्धिका लागि स्वस्थ विउको प्रयोग गर्न सल्लाह दिए । ‘मैले पनि थाहा पाएको थिईन, गोष्ठीबाट जुन कुरा थाहा पाए । व्यवहारिक रुपमा प्रयोगमा ल्याउने मनसायमा पुगे ।’

राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्र खुमलटारका विउ आलु विज्ञ श्याम प्रसाद ढकालले उत्पादकत्व बृद्धिका लागि टिस्यू कल्चर प्रविधि उपयुक्त भएको बताए । प्रमुख बाली नै आलु रहेको जिल्लामा यो प्रविधि फलदायी बन्ने भएकाले कृषकहरुले आत्मसाथ गर्नुपर्ने उनको भनाई छ । उनले भने, ‘यो प्रविधिको अवलम्बन गरे उत्पादन बृद्धिका लागि क्षेत्र विस्तार आवश्यक रहदैन् ।’ सोलुखुम्बुका लागि सिफारिस गरिएको जनकदेव, खुमल सेतो र खुमल विकास जातको आलुको विउ रोप्न सुझाव दिए ।

बर्षौदेखि निजि क्षेत्रबाट आलुको विउ उत्पादन गर्दै आएको नेपाल विउविजन उत्पादन केन्द्र गोदावरीका रामभरोस नेपालले टिस्यू प्रविधिबाट आलुको विउ उत्पादन गर्ने र रोप्ने कामले कृषकलाई फाईदा पुग्ने बताए । ‘परम्परागत रुपमा आलु रोप्दा उत्पादन घट्दै जाने भएकाले उत्पादकत्व बृद्धिका लागि स्वस्थ विउको प्रयोगमा ध्यान दिन आवश्यक छ’ उनले भने ।

कृषकलाई आलुको विउ उत्पादनका लागि गरिएको प्रयोगात्मक सीप सिकाईदै

नेपाल विउविजन उत्पादन केन्द्रबाट खरिद गरिएको केहि सय विरुवा बागबानी केन्द्रको स्किृन हाउसमा रोपिएको छ । गोष्ठीमा सहभागी कृषक र कृषि प्राविधिकलाई प्रयोगात्मक सीप दिलाउने उद्देश्यले आलुको विउ उत्पादनका लागि टिस्यू कल्चर प्रविधिबाट तयार पारिएको विरुवा रापिएको हो । रोपिएको विरुवाबाट विउ आलु तयार पारि कृषकलाई वितरण गरिने बागबानी केन्द्रले जनाएको छ ।

बरिष्ठ बागबानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले बाक्लो आलु खेति गरिने जिल्लामा प्रविधिको बारेमा जानकारी दिलाउने कार्यक्रम अन्तरगत आलुको विउ उत्पादन प्रविधि टिस्यू कल्चर प्रविधि छनौट गरेको बताए । उनले भने, ‘जिल्लामा १० हेक्टर भन्दा बढि क्षेत्रमा आलु खेति गरिन्छ । खायन आलुलाई रोप्ने परम्परालाई निर्मूल पार्नका लागि प्रविधिको प्रयोगमा जोड दिन लागेका हौ ।’ सोलुको आलुको माग बढ्दै गएको अवस्थामा पनि कृषकले प्रविधिको प्रयोग गरि स्वस्थ बनाईएको विउ आलु नरोप्दा चाहेजति उत्पादन लिन सकिरहेका छैनन् । कोशेलीको रुपमा निर्यात हुने आलुको उत्पादकत्व प्रति हेक्टर १६ मेट्रिक टनबाट डबल बनाउन सकिने बताईएको छ ।

अघिल्लो बर्षसम्म मूलुक भर आलु उत्पादनमा पहिलो रहेको सोलुलाई उछन्दै झापा अग्रभागमा देखिएको छ । यो बर्षको आलु उत्पादनको प्रतिवेदन अनुसार सोलुखुम्बु दोस्रो स्थानमा झरेको हो । बर्षेनी एक लाख ५५ हजार मेट्रिक टन भन्दा बढि आलु उत्पादन हुने तथ्यांकले देखाएको छ । मूलुकभर करिब दुई लाख हेक्टरमा हुने आलु खेतिबाट २८ लाख मेट्रिक टन आलु उत्पादन हुदै आएको छ । यो आलु खपतको हिसावले नेपाल ९० प्रतिशत आत्मनिर्भर देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार