प्रभावकारी बन्दै ‘रेडियोबाट सिकाइ’

  सुमेरु संबाददाता

सोलुखुम्बु – लकडाउनका कारण अहिले मूलुकभर विद्यालय बन्द छन् । यो अवस्थामा सबै बालबालिकाहरु घरमा नै बस्न बाध्य भएका छन् । विद्यालय कहिले देखि सुचारु हुन्छन् अहिले नै भन्न सकिने स्थिति छैन । यही अवस्थालाई मध्यनजर गर्दै सोलुखुम्बुमा लामो समय देखि शिक्षा क्षेत्रमा काम गर्दै आएको सस्था रीड नेपालले करिव एक महिनादेखि कक्षा १–८ कक्षाका विद्यार्थीहरुलाई लक्षित गरेर रेडियोबाट सिकाइ रहेको छ । रेडियोबाट नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयको कक्षा दैनिक रुपमा स्थानीय रेडियो हिमाल र सोलु एफ एमबाट प्रसारण गर्दै आइरहेको छ । उक्त कार्यक्रमबाट सिकाइमा निकै सहयोग पुगेको भन्दै विद्यार्थी र अभिभावकहरुले खुसि ब्यक्त गरेका छन् ।

थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्ली घर भएकी दिव्या राई कक्षा ७ मा अध्ययन गर्नुपर्ने छात्रा हुन् । कोरोनाका कारण विद्यालय बन्द भएपछी उनले विद्यालय जान पाएकी छैनन् । विद्यालय जान नपाउदा पढ्ने बानी हराउछ कि भनेर उनको मनमा पिर थियो । तर आजकाल उनको यो पिर हराईसकेको छ । उनको दैनिकी पनि फेरिएको छ । उनी विहानै उठ्छिन र हातमुख धोएर रेडियोको समय कुर्दै कापीकलम किताव लिएर तयारी अवस्थामा बस्छिन् । रेडियो पनि मोबाइलबाटै सुन्छिन् । एक हातमा रेडियो बोक्छिन् भने अर्को हातमा कलम आधा घण्टा ध्यान दिएर सुन्छिन् र रेडियोबाटै सिक्छिन् । उनी संगै उनकी बहिनी पनि रेडियोबाट सिक्न दिदीसंगै बस्छिन् । दिव्याले बहिनीको कक्षा आउदा बहिनीलाई समेत सिक्न सजहिकरण गर्दिन्छन् । बहिनी सुप्राज्ञ राई ४ कक्षामा पढ्छिन् । पढ्ने बानी विर्सिन्छ कि भन्नेथ्यो रेडियो कार्यक्रमले आफुलाई निकै सजिलो भएको र पढ्ने बानीको विकास भएको दिव्याले सुनाइन । ‘दिदीबहिनीको दैनिकी नै अहिले परिवर्तन भएको छ । सुरुमा भन्नु परेनी अहिले त भन्नै पर्दैन । आफै दैनिक तयारी भएर पढ्न बस्ने गरेको र अनलाइन मार्फत पनि दोहो¥याएर दिउँसो समेत सुन्दै सिक्ने गरेको छ ।’ अभिभावक धनरुपा राईले भनिन् ।

त्यस्तै, जनजागृति आवि सल्लेरीमा कक्षा ३ मा पढ्ने सिसम राईलाई पनि रेडियोबाट सिक्न रमाइलो लागि रहेको छ । उनले पनि मोबाइलबाटै रेडियो सुन्दै आइरहेकी छिन् । प्रायः आफ्नो कक्षा रेडियोबाटै नछुटाई अभिभावक निम डोमा राइले जानकारी दिइन् । उता, सोताङमा विद्यार्थीहरु सानो समुहमा मिलेर रेडियो सुन्छन् र सिक्छन् ।

सदिप कार्की वरबोट आवि सोताङका विद्यार्थी हुन् । उनी जहिले रेडियो सुन्छन् र सिक्छन् । रेडियोबाट सिक्न पाउदा निकै खुसि लागि रहेको बताए । त्यस्तै, सल्यानमा शिक्षक चुडाकुमारी केसीको घरमा वरपरका साना साना नानीबाबुहरु ७ बजे नै कपि कलम बोकेर रेडियो सुन्न आइपुग्छन् । उनीहरुलाई मिससंगै बसेर सिक्न रमाइलो लाग्छ । नबुझेको कुरा शिक्षक चुडाकुमारीसँग सोध्छन् । सामाग्रीको प्रयोग र नबुझेको ठाउमा उहाँले सहजीकरण गर्दै सिकाउदै आउनु भएको छ । यसरी सिकाउन पाउदा आफु खुसि भएको र रेडियोबाट आफुले समेत धेरै कुराहरु सिकी रहेको शिक्षक केसीले जानकारी दिईन् । त्यस्तै, दुधकुण्ड हिमालय आविका विद्यार्थीहरुले फोन गरेरै आज त कथा सुनेउ गीत गायौ मिस भनेर आफुलाई सुनाउने गरेको शिक्षक रमा कटेलले बताउछिन् ।

विद्यार्थीहरुलाई मात्र होइन, शिक्षकहरुलाई समेत कार्यक्रमबाट धेरै सहयोग पुग्ने शिक्षकहरुले बताएका छन् । शिक्षक सुमन निरौलाले विद्यार्थीलाई मात्र नभएर हामी शिक्षकहरुलाई समेत पुनर्ताजगी तालिमको काम गर्ने महसुस भएको बताए । शिक्षकले सुन्दा विषयगत रुपमा नवीनतम शिक्षण कौशलमा फाइदा पुग्ने उनको विश्वास छ । शिक्षिका केशरी श्रेष्ठले कार्यक्रम ज्यादै राम्रो भएकाले विद्यार्थीहरुलाई सिकाइमा निकै टेवा पुग्ने विश्वास ब्यक्त गरिन् । आफुले पनि दैनिक कार्यक्रम सुन्दै आएको श्रेष्ठको भनाई छ ।

कार्यक्रमलाई अझ प्रभावकारी बनाउदै लैजाने र विद्यालय संचालन नहुन्जेल सम्म निरन्तरता दिने रीड नेपालका शिक्षा विकास सयोजक केशव गिरीले बताएका छन् । अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा बैशाख २१ गते देखि रीड नेपालले नियमित रुपमा रेडियोबाट सिकाउदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार