सोनाम ग्याल्जेन शेर्पा : जस्ले दिए सोलु गार्माका ६ सय परिवारलाई खाद्यान्न (फोटो र भिडियो)

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा खाद्यान्न वितरण शुरु गरिएको छ । कोरोना कहरका कारण लम्बिएको लकडाउनले पारेको प्रभावलाई मध्यनजर गर्दै हिमालयन केयर फाउण्डेशनका प्रमुख सोनाम ग्याल्जेन शेर्पा र विदेशी नागरिकको सहयोगमा गार्माका हरेक परिवारलाई खाद्यान्न वितरण शुरु गरिएको हो ।

नाजिङबाट वितरण शुरु गरिएको खाद्यान्न आज (शनिबार) विभिन्न टोलका २७८ परिवारलाई वितरण गरिएको छ । नाजिङमा १३०, ताजिङमा ३४, घुन्सा, थल्लेरी र मेन्दोपाकेमा ५३, माथिल्लो गार्मामा ३१ र दुलुङछेमा ३० परिवारलाई खाद्यान्न वितरण गरिएको कांग्रेस नेता भलाकाजी कार्कीले जानकारी दिए ।

ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)का सदस्य एवम् नगरपालिकाको कार्यपालिका सदस्य तथा हिमाल एफ एमका शेयरधनि समेत रहेका समाजसेवी शेर्पाको नेतृत्व, नगरपालिका, नेपाली कांग्रेस गार्मा वडाको समन्वयमा वितरण गरिएको राहत प्याकेजमा ३० केजी चामल, २ लिटर तेल र ४ केजी आयोडिनयुक्त नुन रहेको छ । समाजसेवी शेर्पाले गार्मा स्वास्थ्यचौकीलाई एक थान थर्मल गन प्रदान गरेका छन् भने खाद्यान्नसंगै हरेकलाई सर्जिकल मास्क समेत वितरण गरेका छन् ।

खाद्यान्न वितरण कार्यक्रममा सहभागी सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले कोरोना कहर सबै मिलेर सामना गर्नुपर्ने र कार्यपालिका सदस्य तथा कांग्रेस नेता शेर्पाद्धारा गार्मामा अस्थायी तथा स्थायी रुपमा बसोबास गर्दै आएका सम्पुर्ण परिवारलाई सहयोग गरेकोमा धन्यवाद दिए । संभावित खाद्यासंकटको सामना गर्न कृषि उत्पादनमा जोड दिने गरि आगामी आर्थिक बर्षको बजेट विनियोजन गर्ने मेयर शेर्पाले बताए ।

समाजसेवी शेर्पाले सम्पुर्ण परिवारलाई समान र सम्मानपुर्वक खाद्यान्न वितरण गर्न पाउदा खुसी व्यक्त गर्दै संयोजन र समन्वयका लागि नगरपालिका र कांग्रेसका स्थानीय नेता तथा कार्यकर्तालाई धन्यवाद दिए । वितरण कार्यक्रममा नगरप्रवक्ता शारदामाया तामाङ, कार्यपालिका सदस्य गान्धिमाया तामाङ, महिला मानव अधिकार रक्षक संञ्जाल सोुकी अध्यक्ष टंकीमाया बस्नेत, कांग्रेस नेतृ राधिका श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

गार्माका करिब ६ सय परिवारलाई खाद्यान्न वितरण गरिने लक्ष्य राखिएको अभियान अन्तरगत आइतबार तल्लो गार्मा, जोरबौद्ध र तल्लो साल्मेका परिवारलाई खाद्यान्न वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार