जलन

मैले उनलाई प्रेम गर्दा
थाहा पाएन मेरो प्रेमिल मनले
उनी उपल्लो जातकी हुन् भनेर
अनि म अछुत हुँ भनेर
एकदिन वरपिपलको छहारीमा बसेर
सङ्गै बाँच्ने कसम खाँदा
हामी दुवैका बुढी औँला चिरेर
दुई मुटु एउटै भयौ भन्दै
ल्याप्छे लाएका थियौं प्रेमको
त्यतिबेला दुबैको रगत रातै थियो
रगतभन्दा ठूलो प्रमाण
के पेश गरौं सरकार ?
तल्लाघरे दमाई दाजुले
थुकले धागो मिलाउँदै सियोमा उनेर
सिलाएको चौबन्दी चोली लगाएर
मेरो बाबाले आरनमा कुंदेर
बनाउनुभएको मूर्ती पुज्न
पुजा कोठामा छिरेकी हुन् उनकी आमा
माथ्लो घरका सुनार काकाले
बनाउनुभएको सुनको औँठी चोबेको
पानी छर्केर पवित्र पार्थे उनको घर

खै, म कसरी अपवित्र बुझौँ सुनार काका,
दमाई दाजु अनि मेरो बाबालाई
कुन न्यायलयको कस्तो ढक तराजुमा जोखेर
छुत र अछुत छुट्यायो कस्ले ?
म कहाँ सोधौं सरकार
प्रेमको मापदण्ड के हो ?
अनि प्रेमको परिभाषा
कहाँ लेखिएको छ सरकार ?
सोचेको थिएँ
विभेदको हुण्डरीमा
समानताको दियो जलाउनुपर्छ
द्वन्दको सागरमा
एकताको दियालो बलाउनुपर्छ
छुत अछुतको पहाड खनेर
मानवताको गोरेटो छिचोल्नुपर्छ
उनी र म यस्तो योद्दा बन्नुपर्छ
ताकी, विभेदका विरुद्दमा उठेका
हाम्रा विद्रोहका हिमालबाट चियाउंदा
सगरमाथा पनि होचो देखियोस
तर विडम्वना,
दियो बाल्न सलेदो नभिजाउँदै
दियालो सल्काउन सलाई नकोर्दै
गोरेटो खन्न बेल्चा नसमाउँदै
हाम्रो प्रेमको हिमाल,
पापिहरूले भेरीमा बगाइदिए
निरीह बगिरहेको छ भेरी
प्रेमको शव बोकेर
भेरीको बाध्यता
तिमीलाई थाहा छ सरकार ?

मेरी आमाको काख टुटेको बेला हो यो
प्रेमिकाको साथ छुटेको बेला हो यो
न्यायप्रेमी मनहरूको यतिबेला
पलपल भक्कानो छुट्न सक्छ
मुटु फुट्नसक्छ
वेदनाहरू उर्लिएर झर्न सक्छ्न्
आंखाका डिलबाट हाम फाल्दै
हो यहि बेला
मेघ झैँ गर्जिनुपर्दछ मानवता
वर्षिनु पर्दछ घनघोर न्यायको वर्षा
र बगाउनुपर्छ यी कुसंस्कार र कुरितीहरू
अर्जापिनु पर्दछ मानव हृदयको सहास
र संकेत दिनुपर्दछ
विभेद र अत्याचारको बर्बरता कति क्रुर हुन्छ भन्ने
यदि मलाई न्याय मिल्छ भने
पिडकहरूलाइ यस्तो सजाय देऊ
छुत अछुतको द्वन्दमा आइन्दा
यस्तो दुस्साहस कसैले नगरोस्
मानवता भन्दा माथि
जातियता नहोस
तर बिन्ती,
मलाई सहिद घोषणा नगर
यदि घोषणा ग¥यौ भने
गंगालाल, शुक्रराज, धर्मभक्त र दशरथको घोर अपमान हुनेछ
यतिबेला
कोहि पनि अपमानित भएको
सहन सक्ने सामर्थ
म् सङ्ग छँदै छैन
अपमानित हुँदाको जलन कस्तो हुन्छ
तिमीलाई थाहा छ सरकार ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार