कांग्रेस सोलुको ‘नयाँ अवधारणा’ (भिडियो सहित)

  सुमेरु संबाददाता

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुले नयाँ अवधारणा अघि सारेको छ । शुक्रबार सल्लेरीमा गरिएको पत्रकार सम्मेलनमा नागरिक सहायताका लागि स्थानीय सरकारको सहकार्यमा गरिने ‘कोरोना पिडित तथा वेरोजगार राहत कोष’स्थापनाको अवधारणा सार्वजनिक गरेको छ ।

सो कोष स्थापनाका लागि कांग्रेस सोलुखुम्बुले ८ स्थानीय तहमा ४ लाख परिचालन गर्ने पुर्व पार्टी सभापति आङगेलु शेर्पाले बताए । उनले भने, ‘हरेक स्थानीय सरकारमा कोष स्थापनामा कांग्रेसले ५० हजार विउ पूँजी प्रदान गर्नेछ । स्थानीय सरकारसंग सहकार्य गरेर कोष बृद्धिका लागि खुला आब्हान गर्ने तयारी गरेका छौ ।’

हरेक स्थानीय तहमा कम्तीमा ५० लाखको कोष स्थापना गरेर कोरोना पिडित र वेरोजगार समस्या समाधानमा काम गर्ने गरि कांग्रेसले अवधारणा ल्याएको नेता शेर्पाले बताए । ‘स्थानीय सरकार प्रमुख संग छलफल गरेर सरकार प्रमुखकै मातहतबाट कार्यान्वयन हुने गरि अवधारणा ल्याएका हौ । हामीलाई लाग्छ की, सरकार प्रमुखहरुले पनि सकारात्मक रुपमा लिनुहुनेछ ।’ नेता शेर्पाले भने ।

कोष स्थापनाको छलफल र नगद हस्तान्तरण संगै कोष स्थापनाको काम नेचासल्यान गाउँपालिकाबाट गरिने छ । क्रमशः अन्य स्थानीय तहमा एक साता भित्र पुग्ने कांग्रेसले जनाएको छ । पत्रकार सम्मेलनमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, कांग्रेसका प्रदेश सभा ‘क’सभापति सुर्य कुलुङ, प्रदेश सभा ‘ख’सभापति कर्मा शेर्पा, नगरकार्यपालिका सदस्य सोनाम ग्याल्जेन शेर्पा, सोताङ कांग्रेस सभापति गणेश बस्नेत लगायतका जनप्रिितनिध तथा कांग्रेस नेताहरुको उपस्थिती रहेको थियो ।

स्थानीय सरकारलाई कांग्रेसको सुझाव

जारी विज्ञप्तीमा कांग्रेसले तत्कालिन, अल्पकालिन र दिर्घकालिन योजनाहरु पनि सुझावको रुपमा उल्लेख गरिएको छ । तत्कालिन रुपमा हरेक स्थानीय तहमा अपुरो रहेका योजना कार्यान्वयनका लागि वरोजगार र विपन्न नागरिकलाई क्षमता एवंम दक्षताको आधारमा काम दिने र उनीहरुलाई सुरक्षित साथ कार्यस्थलमै बसोबासको व्यवस्था मिलाउन स्थानीय सरकारलाई सुझाव दिएको छ ।

कांग्रेसले कोरोना कहरका कारण वैदेशिक रोजगारीमा रहेका सोलुखुम्बु करिब एक हजार गाउँ फर्केने संभावना देखिएकाले हरेक गाउँपालिकामा एक सय क्षमताको क्वारिन्टीन, हस्पिटल तथा स्वास्थ्य संस्थामा २० वेडको भेन्टिलेटर सहितको आइशोलेसन वार्ड निर्माण गर्न तत्कालिन सुझाव दिएको छ । कांग्रेसको अल्पकालिन योजनामा कोरोनाका कारणले रोजगार गुमाएका वेरोजगार तथा अतिविपन्न परिवारलाई कृषि तथा पशुपालनमा संलग्न हुने गरि विउविजन, बाख्रा तथा संगुरका पाठापाठी, कुखुराका चल्ला वितरण गरि राहतका कार्यक्रम अघि बढाउने विषय समाबेश गरिएको छ ।

कांग्रेसले कोरोना कहर थपिदै जाने संभावना बढेकाले स्थानीय तहमा संचालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा आइसोलेशनका लागि नयाँ भवन निर्माण गर्न र दिर्घकालिन रुपमा कृषि तथा पशुपालन उत्पादनका लागि आवश्यक तालिम र प्रविधिको व्यवस्थापन गरि नगदे बालीमा प्रोत्साहन गर्ने योजना ल्याउन स्थानीय सरकारलाई दिर्घकालिन सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार