खुम्बु पासाङल्हामुको बार्षिक बजेट २९ करोड ८० लाख

गाउँपालिका अध्यक्ष क्यान्सर कोषको स्थापना

  सुमेरु संबाददाता

सोलुखुम्बु – प्रदेश नं १ को पर्यटकीय स्थानीय तह खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७–७८ का लागि २९ करोड ८० लाख १६ हजारको बजेट ल्याएको छ । कार्यवहाक अध्यक्ष टासील्हामू शेर्पाको अध्यक्षतामा शुक्रबार बसेको सातौँ गाउँ सभाले चालु तर्फ १७ करोड ५२ लाख ४० हजार र पूँजीगत तर्फ १२ करोड २७ लाख ७६ हजार विनियोजन गरेको हो ।

प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले जारी गरेको प्रेस विज्ञप्ती अनुसार सभाले स्वर्गीय गाउँपालिका अध्यक्ष ङिमदार्जी शेर्पाको निधन प्रति शोक प्रस्ताव पारित गर्दै गाउँपालिका अध्यक्ष क्यान्सर कोषको स्थापना गरेको छ । गाउँपालिका अध्यक्ष शेर्पाको क्यान्सरको कारण असार २ गते निधन भएको थियो । गाउँसभाले गाउँपालिका उपाध्यक्ष सुत्केरी उद्धार कोष स्थापना गरेको छ भने महिला स्वास्थ्य स्वयम्सेविकाको लागि पोषाक र यातायात खर्चको व्यवस्था गरेको छ ।

आगामी आर्थिक बर्षमा निर्माणाधिन ङिमदोर्जी पर्यटन सडकको ट्रयाक ओपनको कामलाई पहिलो प्राथमिकता दिने र खरिखोला बसर्पाक निर्माणलाई पनि उचित बजेट विनियोजन गरेको प्रवक्ता शेर्पाले बताए । बाख्रापालन पकेट, चौरी संरक्षण कार्यक्रम, कृषिको विकास र विस्तारमा उपकरण खरिद र कृषि तालिमका लागि बजेट व्यवस्थापन गरेको गाउँ सभाले लघु उद्यमशील कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

आगामी आर्थिक बर्षमा गाउँपालिकाले वेरोजगार व्यक्तिको सीप, क्षमता र अनुभवको आधारमा दैनिक ज्यालादारी रोजगार कार्यक्रम संचालन गर्ने छ भने एक घर एक धाराको रणनिति अवलम्बन गर्दै सुरक्षित पिउने पानीका लागि काम गर्न र विपन्न परिवार लक्षित कार्यक्रम सौर्य बत्ति जडान र सुधारिएको चुल्हो वितरण लगायतका कार्यक्रम आगामी आर्थिक बर्षमा गर्ने योजना तथा बजेट गाउँ सभाले पारित गरेको छ ।

उत्कृष्टलाई पुरस्कार

खुम्बु पासाङल्हामु गाउँपालिकाले आर्थिक बर्ष २०७६–७७ मा उत्कृष्ट प्रहरी, उपभोक्ता समिति र कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ । गाउँ सभाले उत्कृष्ट प्रहरीमा मोहन दाहाल, उपभोक्ता समितिमा फोर्चे गुम्बा निर्माण उपभोक्ता समिति र उत्कृष्ट कर्मचारीको रुपमा स्वर्गीय पुर्ण बहादुर खड्का (मरणोप्रान्त) पुरस्कृत गरिने योजना शाखा प्रमुख छत्र खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार