लोक कलाकर्मीको आफ्नै सहकारी

‘एकादशीको दिन धेरैले तुलसी रोपे होलान् तर हामीले सहकारी र सहकार्यको विउ रोप्यौ ।’ अध्यक्ष विजीले भने,

  सुमेरु संबाददाता

सोलुखुम्बु – लोक कलाकर्मीहरुको छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सहकारी संचालनको अवधारणा कार्यान्वयनमा अघि बढेको छ । कलाकारले कमाएको रकम बचत गर्ने र दुख पर्दा ऋण परिचालन गर्ने गरि संचालन गर्न लागिएको सहकारीको दर्ता प्रमाण–पत्र ग्रहण गरिएको छ ।

काठमाण्डौ स्थित टोखा नगरपालिकाको सहकारी ऐन २०७५ को दफा ६ बमोजिम लोक संगीत बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको नाममा सहकारी दर्ता भएको र बुधबार दर्ता प्रमाण–पत्र ग्रहण गरिएको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश विजीले जानकारी दिए ।

अध्यक्ष विजीले आफू निर्वाचित हुदै गर्दा कार्यान्वयनमा ल्याउने बाचा गरेका योजनाहरु कार्यान्वयन शुरु गरेको बताए । उनले भने, ‘संगीत प्रशिक्षणको काम म निर्वाचित पछि शुरु भएको छ । त्यस्तै, लोक कलाकारकै कमाइमा सहकारी संचालन गर्ने र रोजगारी संगै बचत र लगानीमा प्रोत्साहित गर्ने योजनाको विउ रोप्ने काम भएको छ ।’ उनले सहकारी स्थापनाको काम लोक कलाकर्मीको लागि ठूलो उपलब्धि भएको बताए ।

‘एकादशीको दिन धेरैले तुलसी रोपे होलान् तर हामीले सहकारी र सहकार्यको विउ रोप्यौ । असाध्यै खुसी लागेको छ ।’ अध्यक्ष विजीले भने, ‘सहकारी दर्ता प्रक्रियामा अहोरात्र खट्ने प्रतिष्ठानका पुर्वअध्यक्ष चन्द्र शर्मा, निर्वतमान अध्यक्ष बद्रि पंगेनी, उपाध्यक्ष दिपक खड्का लगायत केन्द्रिय समितिका सदस्यहरुलाई धन्यवाद दिन चाहन्छु ।’

अध्यक्ष विजीले निकट भविष्यमै वैठक बोलाएर सहकारी संचालन समिति गठन गर्ने र क्रमशः संस्थापक शेयर र साधारण शेयरको प्रक्रिया अघि बढाउने योजना सुनाए । उनले भने, ‘सहकारी कलाकारको दुखको सारथी बन्नेछ । कलाकारले दैनिक कमाएको रकम बचत गर्ने र आवश्यक पर्दा बचत र ऋण रकम सम्म चलाउन पाउने कुरा सुखद रहनेछ ।’ विपदमा राहत दिन सक्ने गरि सहकारी स्थापित हुनेमा कुनै सन्देश नगर्न विजीको आग्रह छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार