५६ लाखको ‘कोरोना पिडित तथा वेरोजगार राहत कोष’ स्थापना

कांग्रेस सोलुखुम्बुको अवधारणा

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाले ‘कोरोना पिडित तथा वेरोजगार राहत कोष’ स्थापना गरेको छ । नेपाली कांग्रेस सोलुखुम्बुले शुरुवात गरेको कोष स्थापनाको अभियान अन्तरगत विउ पूँजी वापत ५० हजार हस्तान्तरण कार्यक्रममा नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले ५६ लाख ५ सय ५५ रुपैँयाको ‘कोरोना पिडित तथा वेरोजगार राहत कोष’ स्थापनाको घोषणा गरेका हुन् ।

कांग्रेसको विउ पुँजी ग्रहण गर्दै मेयर शेर्पाले कांग्रेसको अवधारणालाई आत्मसाथ गर्दै कोषमा नगरपालिकाले ५० लाख जम्मा गर्ने बताए । कांग्रेस सोलुखुम्बुको ५० हजारमा कांग्रेस सोलुदुधकुण्डले ४ लाख ४५ हजार र नगर शिक्षक संघले एक लाख ५ हजार ५ सय ५५ रुपैयाँ कोषमा जम्मा गर्नेछ । कांग्रेस सोलुदुधकुण्डका सभापति तथा वडा नं ४ का वडाअध्यक्ष दावा गेलु पाख्रिन ‘राजु’ र नगर शिक्षक संघका सभापति विनोद सिं तामाङले सहयोग रकम घोषणा गरेका हुन् ।
कोष स्थापनाको घोषणा गर्दै मेयर शेर्पाले कोष बृद्धिका लागि नगरपालिका क्षेत्रमा संचालनमा रहेका बैँक तथा वित्तीय संस्था, निर्माणाधिन हाइड्रोपावर, सामाजिक संघसंस्था लगायतमा सहयोगको आब्हान गर्ने बचन दिए । मेयर शेर्पाले भने, ‘नगरपालिका पनि कोष स्थापनाको पक्षमा थियो । अभियान बोकेर कांग्रेस आएपछि अझ हौसला मिलेको छ ।’

विकास निर्माण र सुशासनको विषयमा बोल्दै मेयर शेर्पाले नगरबासीको चाहना बमोजिम विकास निर्माण र सुशासनको पक्षमा इमानदारीपुर्वक काम गरेको दाबी गरे । कोरोना कहरपछि बढ्ने वेरोजगारी समस्यालाई हल गर्न कम्तीमा पनि एक हजारलाई रोजगारी दिने गरि आगामी आर्थिक बर्ष २०७७–७८ को निति तथा कार्यक्रम अवलम्बन गरिएको उनले बताए । सोही कार्यक्रममा नगरपालिकाकी उपमेयर कल्पना राईले कांग्रेसको अवधारणा सकारात्मक भएकाले कार्यान्वयनमा ल्याउने बताईन् । कोष अवधारणाको प्रशंसा गर्दै उपमेयर राईले राम्रो कामको अनुशरण गर्न पार्टीले छेक्न नहुने बताइन् ।

कार्यक्रममा कांग्रेस नेता तथा पुर्व पार्टी सभापति आङगेलु शेर्पाले विपदमा मिलेर जानुपर्ने अवधारणाको अभियान सफल बन्दै गएको बताए । ७ वटै गाउँपालिका प्रमुखले सकारात्मक रुपमा अवधारणा लिएकाले कोष स्थापनाको माध्यमबाट कोरोनाले निम्त्याउने वेरोजगारी समस्या हल गर्न सहयोग पुग्ने नेता शेर्पाले बताए । उनले भने, ‘मानव अस्तित्व संकटमा परेको बेलामा सम्पुर्ण पक्ष मिलेर अघि बढौ । यसैमा सबैको भलाइ छ । कोरोनाका कारण क्षति कम गर्न पुर्वतयारीको काम अघि बढाउन सक्नुपर्छ ।’

कांग्रेसका प्रदेश सभा ‘ख’का सभापति कर्मा शेर्पाले कांग्रेसले सहकार्ययुक्त राजनितिक संस्कारको विकास गरेकाले कोरोना कहरपछिको अवस्था सामनामा एकजुट भएर लाग्नुपर्ने बताए । वडा नं ४ का वडाअध्यक्ष तथा कांग्रेस सोलुदुधकुण्डका सभापति दावा गेलु पाख्रिन ‘राजु’ र नगरकार्यपालिका सदस्य तथा कांग्रेस नेता एवम् कांग्रेस अभियानका संयोजक सोनाम ग्याल्जेन शेर्पाले वैदेशीक रोजगारीबाट फर्कने नागरिकको व्यवस्थापनमा कोषले सहज बनाउने भएकाले व्यवस्थित कार्यान्वयनका लागि आग्रह गरे ।

अभियानका प्रवक्ता तथा कांग्रेस नेता गणेश बस्नेतले हरेक स्थानीय सरकार प्रमुखको प्रतिक्रियाले जिल्लाका ८ वटै स्थानीय तहमा कोष स्थापनाको बाटो खुलेको बताए । कार्यक्रममा कांग्रेसकी महाधिबेशन प्रतिििनध सरला नाछिरिङ, कांग्रेस नेता लाक्पा तामाङ, कांग्रेसका नेता तथा शुभेच्छुक संस्थाका प्रमुख र जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार