थुलुङ दुधकोशी : काँगेल र जुबुमा सार्वजनिक सुनुवाई

  सुमेरु संबाददाता

सोलुखुम्बु – सुशासन र पारदर्शिताको लागि सार्वजनिक सुनुवाई शुरु गरेको सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले सोमबार वडा नं २ काँगेल र वडा नं ५ जुबुमा सार्वजनिक सुनवाई सम्पन्न गरेको छ । वडा कार्यालयको आयोजना, गाउँपालिकाको समन्वय र सुमेरु मिडियाको सहजीकरणमा आइतबार वडा नं ४ जुबुबाट शुरु भएको सुनुवाई कार्यक्रम वडा नं २ र ५ मा पनि सम्पन्न भएको हो ।

वडा नं २ काँगेलमा चालु आर्थिक बर्ष २०७६–७७ मा कार्यान्वयनमा आउनुपर्ने योजनामध्ये ६१ प्रतिशत कार्यान्वयन गरिएको वडाअध्यक्ष उदयनारायण बस्नेतले जानकारी गराए । राजस्व बाँडफाँड तर्फको बजेट प्राप्त नहुदा वडामा संचालन हुनुपर्ने योजना प्रभावित भएको वडाअध्यक्ष बस्नेतको भनाई छ ।

वडाबाट ३ लाख २८ हजार ५ सय राजस्व संकलन गरिएको सहजकर्ता अर्जुन नेपालीले जानकारी दिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित सरोकारवालाहरुले योजनागत रुपमा सार्वजनिक सुनुवाई गर्न सुझाव दिएका थिए । कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै वडाअध्यक्ष बस्नेतले योजनाहरु पारदर्शी रुपमा संचालन गरेको दाबी गरे ।

उता, वडा नं ५ जुबुमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक बर्षको आय–व्ययको साथमा योजनाका बारेमा वडाबासीलाई जानकारी गराइएको छ । वडाअध्यक्ष प्रेम कुमार राईले चालु आर्थिक बर्षमा गाउँपालिका र प्रदेश सरकारबाट एक करोड ७० लाख १० हजार बजेट प्राप्त भएको र सम्बन्धित योजना सम्पन्न गरिएको जानकारी दिए । चालु आर्थिक बर्षमा कोरोना कहरका कारण लक्षित बर्ग अन्तरगतको जनजाती र महिला शिर्षकको एक लाख ६० हजार बजेट फिर्ता भएको जानकारी गराइएको छ ।

सरोकारवालाहरुले योजना संचालन पछि अनुगमन तथा दुदुखोला लघुजलविद्युत आयोजनाको संचालन प्रभावकारी गर्नुपर्ने, सुकेपोखरी व्यवस्थापनको काम फितलो भएको भन्दै गुनासो तथा सुझाव दिएका थिए । उनीहरुले शिक्षा क्षेत्रमा बजेट व्यवस्थापनका लागि गाउँपालिकासंग माग समेत गरेका छन् ।

वडाबासीको गुनासोपछि जवाफ दिदै वडाअध्यक्ष राईले आगामी बर्षमा योजना अनुगमनलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको कार्यक्रमका सहजकर्ता विना राईले जानकारी दिइन् । मंगलबार वडा नं ३ पन्चन र वडा नं ९ लोखिममा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार