थुलुङ दुधकोशी : लोखिम, पन्चन र मुक्लीमा सार्वजनिक सुनुवाई

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका वडाअध्यक्ष भुपाल सिं राईले योजना कार्यान्वयन पारदर्शी रहेको दाबी गरे । वडाको आयोजना, गाउँपालिकाको समन्वय र सुमेरु मिडियाको सहजीकरणमा मंगलबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै वडाअध्यक्ष राईले समयमै विकास योजना पारदर्शी तवरले कार्यान्वयन गर्ने थोरै वडामध्येको एक वडा लोखिम भएको दाबी गरे ।

वडाबासीको सरोकारवाला उपस्थिती सुनुवाई कार्यक्रममा चालु आर्थिक बर्षमा कार्यान्वयनमा आएको योजना र बजेट सार्वजनिक गरिएको थियो । चालु आर्थिक बर्ष २०७६–७७ मा गाउँपालिका, प्रदेश सरकार र भुकम्प पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइबाट विभिन्न योजना संचालनका लागि प्राप्त ४ करोड २० लाख ५३ हजार २ सयको प्रगती विवरण सार्वजनिक गरिएको कार्यक्रमका सहजकर्ता विना राईले जानकारी दिइन् ।

पन्चन

थुलुङ दुधकोसी गाँउपालिका ३ पञ्चनले आर्थिक वर्ष २०७६÷७७ मा ८७ प्रतिशत योजना सम्पन्न गरेको छ ।

मंगलबार पन्चनमा सार्वजनिक सुनुवाई गर्दै ८७ प्रतिशत योजना सम्पन्न भईसकेको जानकारी गराईएको हो । वडा कार्यालयको आयोजना, गाउँपालिकाको समन्वय र सुमेरु मिडियाको सहजीकरणमा गरिएको सुनुवाई कार्यक्रममा १ लाख ३ हजार ५६५ रुपैया राजश्व संकलन गरिएको वडा कार्यालयले जनाएको छ ।

सुनुवाई कार्यक्रममा उपस्थित अधिकांसले योजनाको पारदर्शीतामा प्रश्न उठाएका थिए । नागरिकहरुको प्रश्नको जवाफ दिदै वडाअध्यक्ष भुपालध्वज राईले योजना कार्यान्वयन पारदर्शी रहेको दाबी गर्दै कमीकमजोरी भएर सच्याएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

मुक्ली

थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीमा चालु आर्थिक वर्ष २०७६÷७७ मा ६१ प्रतिशत योजना सम्पन्न गरेको छ । बुधबार वडाको आयोजना, गाउँपालिकाको समन्वय, सुमेरु मिडियाको सहजीकरणमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा वडाअध्यक्ष फुर्तीमान तामाङले चालु आर्थिक बर्षको योजना कार्यान्वयनको प्रगती ६१ प्रतिशत रहेको जानकारी दिए ।

वडाले चालु आर्थिक वर्षमा ३ लाख रुपैया राजस्व संकलन गरेको सहजकर्ता अर्जुन नेपालीले जानकारी दिए । वडामा पारदर्शि ढंगले बजेट कार्यान्वयन भएको वडाध्यक्ष तामाङले दाबी गरे ।

सार्वजनिक सुनुवाईमा सरोकारवालाहरुले ठेकेदारले जिम्मा लिएका योजना गुणस्तरिय नभएको र योजना सञ्चालनमा लापरबाही गरिएको भन्दै गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार