सोलुखुम्बु : साउदीबाट आएका चार पुरुषमा कोरोना संक्रमण पुष्टि

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुका चार पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाव संकलन गरि पिसिआर परीक्षणका लागि पठाइएका २६ मध्ये चार पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

संक्रमितमध्ये सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाका २६ बर्षिय र वडा नं ८ केरुङका ३० बर्षिय पुरुष रहेका छन् भने थुलुङ दुधकोशी गाउँपालिका ५ का ३२ बर्षिय पुरुष र वडा नं ७ का ३४ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरु साउदीबाट गत जेठमा नेपाल फर्किएका हुन् । संक्रमण पुष्टि भएका ती यूवा जिल्ला अस्पताल फाप्लु र थुलुङ दुधकोशी गाउँपालिकाको क्वारिन्टीन रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेपनि आइसोलेशन वार्डमा सार्ने तयारी भएको स्रोतले जनाएको छ ।

स्वाव संकलन गरि पठाइएका अन्य २२ जनामध्ये ३ जनाको पिसिआर रिर्पोट आउन बाँकी छ । सोलुदुधकुण्ड नगरपालिकाको १६, थुलुङ दुधकोशी र महाकुलुङ गाउँपालिकाको ४–४ र सोताङ गाउँपालिकाको २ जनाको स्वाव संकलन गरि पिसिआर परीक्षणका लागि पठाइएको थियो ।

यसअघि कोरोना संक्रमित सोलुदुधकुण्ड नगरपालिका ८ का एक २७ बर्षिय यूवा उपचारपछि निको भएर घर फर्किएका छन् भने अर्का एक संक्रमितको भक्तपुरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार