सोलुखुम्बुका कोरोना संक्रमितलाई धरान पठाइयो

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोमबार कोरोना संक्रमण पुष्टि भएका सोलुखुम्बुका ४ पुरुषलाई उपचारका लागि धरान पठाइएको छ । सोलुदुधकुण्ड नगरपालिका ८ र ११ का एक एक जना र थुलुङ दुधकोशी गाउँपालिका ५ र ७ का एक एक जना पुरुषमा कोरोना देखिएपछि उपचारका लागि धरान पठाइएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिईन् । उनीहरु गत जेठ अन्तिम साता वैदेशिक रोजगारीबाट नेपाल फर्केका थिए ।

सोलुदुधकुण्ड नगरपालिकाबाट १६, थुलुङ दुधकोशी र महाकुलुङ गाउँपालिकाबाट ४–४ र सोताङ गाउँपालिकाबाट २ जनाको स्वाब संकलन गरि पठाएकोमा सोलुदुधकुण्ड र थुलुङ दुधकोशीको २–२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयका अनुसार ३ जनाको पिसिआर रिर्पोट आउन बाँकी रहेको छ । अन्य १९ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । संक्रमित पुरुष गाउँघर प्रवेश नगरेकाले अन्यलाई संक्रमणको जोखिम उच्च नरहेको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले बताए । मेयर शेर्पाले नआत्तिन र आवश्यक सावधानी अपनाएर नियमित काम गर्न नगरबासीलाई आग्रह गरेका छन् ।

उता, थुलुङ दुधकोशी गाउँपालिकाले आफ्नो गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि साप्ताहिक हाटका साथमा भिडभाड र भेला हुने सबै कार्यक्रमहरु स्थगित गरेको छ । गाउँपालिका क्षेत्रभित्र थप संक्रमण फैलिन नदिन नेले, देउसाको रोक्ति र शुक्रबारे, लोखिमको सोमबारे र जुबुको सुकेबजार लगायतका साप्ताहिक हाट बजार बन्द गर्ने, भिडभाड हुने सबै प्रकारको भेला तथा कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको अध्यक्ष असिम राईले जानकारी दिए ।
यसअघि सोलुदुधकुण्ड नगरपालिका ८ का पुरुषले कोरोना जितिसकेका छन् भने एक महिलाको भक्तपुरमा उपचार भइरहेको छ । यो संगै सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार