कोरोना त्रास भुलेर धर्मकर्म : हजारौँ पुगे दुधकुण्ड (भिडियो सहित)

  सुमेरु संबाददाता

सोलुखुम्बु – कोरोना कहरकै बीच हजारौ दर्शनार्थी दुधकुण्ड पोखरी पुगेका छन् । जनैपुर्णिमाको अबसरमा बर्षेनी लाग्ने मेला यो पटक कोरोना भाइरस संक्रमणको जोखिमकै कारण औपचारिक रुपमा नलाग्ने भनिएपनि दर्शनार्थीहरु स्वस्फुर्त धार्मिक स्थलहरुमा पुगेका छन् ।

नियमित पुजाआजा मात्रै गर्ने तयारीमा जुटेका ‘सानो दुधकुण्ड’को नामले परिचित सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुमा अवस्थित सेतिदेवीको मन्दिरमा हजारौ दर्शनार्थीले दर्शन गरेका छन् । मन्दिर परिसरमा अघिल्ला बर्षहरुकै झल्को दिने गरि दर्शनार्थीको लाइन देख्न सकिन्थ्यो । उद्यपी, मेला नलाग्ने भनेकाले रक्षाबन्धन र व्यापारका लागि पण्डित र व्यापारीहरु भने थिएनन् । मनोकांक्षा पुरा हुने विश्वासको आधारमा दर्शनार्थीहरु मास्क विनै मन्दिर पुगेका थिए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुपसिंह तामाङले नियमित पुजाका लागि मात्र स्थानीय प्रशासनसंग अनुमति लिएको भएपनि दर्शनार्थीको भिडले दर्शन खुला गर्न बाध्य बनेको बताए । मन्दिरका पुजारी दावा तामाङले दर्शनार्थीको भापकै कारण सामाजिक दुरी र अन्य सावधानीको कुनैपनि उपाय अपनाउन नपाएको बताए । अघिल्लो बर्ष भन्दा केही संख्यामा मात्र दर्शनार्थी घटेको व्यवस्थापन समितिको भनाई छ ।

उता, सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुमा अवस्थित दुधकुण्ड पोखरीमा पनि सयौँ दर्शनार्थी पुगेका छन् । साउने सोमबारका दिन जनैपुर्णिमा परेकाले पनि दुधकुण्ड जानेलाई रोक्न नसकिएको सोलुदुधकुण्ड नगरपालिकाले जनाएको छ । त्यस्तै, सोलुदुधकुण्ड नगरपालिका ८ चाँगेस्थानमा पनि सयौँको संख्यामा दर्शनार्थी पुगेका छन् भने थुलुङ दुधकोशी गाउँपालिका ७ देउसामा अवस्थित जालिमदेवी मन्दिरमा पनि सयौँ दर्शनार्थी पुगेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यद्यपी, ती धार्मिक स्थलमा जनैपुर्णिमा मेला कोरोनाकै कारण स्थगीत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार