रीड नेपालको सक्रियता :अभिभावकसँग बसेर अभ्यास गर्न मिल्ने पुस्तिका वितरण शुरु

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुमा शैक्षिक उन्नयनका लागि निरन्तर क्रियाशिल गैरसकारी संस्था रीड नेपालले अभ्यास पुस्तिका वितरण शुरु गरेको छ ।

कोरोना कहरका कारण विद्यालय खुल्ने समय अन्यौल रहेको समयमा रीड नेपालले एक सय विद्यालयका आधारभूत तहका (प्रारम्भिक बाल कक्षा देखि कक्षा ८)सम्मका पचपन्न सय विद्यार्थीलाई अभिभावक संगै बसेर अभ्यास गर्न सकिने पुस्तिका वितरण शुरु गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भिम बोगटीले जानकारी दिए ।

बुधबारबाट वितरण शुरु गरिएको अभ्यास पुस्तिका यथासिघ्र विद्यार्थीको हातहातमा पु¥याउने रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले जानकारी दिए । कोरोना जोखिमका कारण विद्यालय बन्द रहेको अवस्थामा अभ्यास पुस्तिका वितरणले विद्यार्थीको उपचारात्मक सिकाइमा सहयोग पुग्ने अपेक्षा लिएको गिरीको भनाई छ ।

अष्ट्रेलियन हिमालयन फाउण्डेशन र अष्ट्रेलियन एडको आर्थिक सहयोगमा तयार पारिएको अभ्यास पुस्तिका मुख्य विषय अग्रेजी, गणित र विज्ञान विषय केन्द्रित रहेको छ । गत चैत्र ११ देखि लकडाउन शुरु भएपछि विद्यार्थीको सिकाइका लागि ‘रेडियोबाट सिकाइ’कक्षा संचालन गरेको रीड नेपालले अहिले हप्ताको ५ दिन (बुधबार र शनिबार वाहेक)दैनिक ५ विषय (नेपाली, अग्रेजी, गणित, विज्ञान र सामाजिक)को सिकाइ केन्द्रित ‘रेडियो होम स्कुल’संचालन गरिरहेको छ ।

यसअघि रीड नेपालले रेडियो सिकाइ प्रभावकारी बनाउन विपन्न परिवारका बालबालिकालाई सयौँ रेडियो समेत वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार