जि फाउण्डेशनको आर्थिक सहयोगमा विद्यालय भवन पुनःनिर्माण

भोजपुर – भोजपुरको साल्पा शिलिछो गाउपालिका ६ थुम्लुङमा रहेको आईतबारे आधारभुत विद्यालयको भुकम्प प्रतिरोधी दुई कोठे भवन पुन निर्माण कार्य सम्पन्न भएको छ । जि फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा तथा पहाडी विकास तथा संरक्षण समुह नेपालको साझेदारीतामा निर्मित उक्त भवनको सार्वजनिक सुनुवाई तथा हस्तान्तरण कार्यक्रम समेत सम्पन्न भएको छ ।

उक्त कार्यक्रम साल्पा शिलिछो गाउपालिका अध्यक्ष महेश राई प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भवन पुन निर्माणका लागि पहाडी विकास तथा संरक्षण समुह नेपालको तर्फबाट नगद चौविस लाख छयासी हजार तेह्र रुपैया र स्थानीय जनसमुदायको तर्फबाट तीन लाख पच्चीस हजार आठ सय बिस रुपैया बराबरको जनश्रमदान गरी अठाईस लाख एघार हजार आठ सय तेत्तीस रुपैया खर्च भएको सार्वजनिक सुनुवाई मार्फत जानकारी दिइएको छ ।

विद्यालय भवनसंगै विद्यालयका लागि आवश्यक बालमैत्री खानेपानी समेत संस्थाको सहयोगमा निर्माण सम्पन्न भएको छ । जि फाउण्डेशनकै आर्थिक सहयोगमा साल्पा शिलिछो गाउपालिका ५ मातेलमा एक घर एक खानेपानी धारा निर्माण कार्य पनि सम्पन्न भएको छ । साझेदारी संस्था पहाडी विकास तथा संरक्षण समुह नपालको तर्फबाट एकावन्न लाख पैतालीस हजार छ सय बाईस रुपैया नगद र स्थानीय जनसमुदायको तर्फबाट अठार लाख छ हजार तीन सय दश रुपैया बराबरको जनश्रमदान गरी उनानसत्तरी लाख एकावन्न हजार नौ सय बत्तीस रुपैया बराबरको लागतमा मातेलमा ११५ वटा खानेपानी धारा निर्माण कार्य सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार