सोलुखुम्बु, चैत्र १७
सोलुदुधकुण्ड नगरपालिका ७ लास्मे गाउँमा विद्युत विस्तार गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका, अपरसोलु होईड्रो ईलेक्ट्रिक कम्पनी र स्थानीयको समेत सहभागितामा सल्लेरी च्याल्सा विद्युत कम्पनीबाट उत्पादित विद्युत साल्मेका ५६ घरधुरीमा विस्तार गरिएको हो ।
शनिबार विद्युतको औपचारिक उद्घाटन गर्दै मेयर नाम्गेलजाङ्बु शेर्पाले आफ्नै कार्यकाल भित्र उज्यालो नगरको अभियान पूरा गर्ने बताए । ‘नगरपाालिकाको अगुवाईमा वडा नम्बर ७ साल्मेमा विद्युत विस्तार गरिएको छ ।’ शेर्पाले भने, ‘आगामी ३ बर्षसम्म नगरपालिकालाई अध्यारोमुक्त बनाएरै छाड्छु ।’ नगरलाई उज्यालो बनाउने विषयलाई प्राथमिकतामा राखेको उनले बताए ।
अपर सोलुका प्रबन्धक मार्कण्डेय न्यौपानेले सामाजिक उत्तरदायीत्व बहन गर्ने कार्यमा आफ्नो परियोजना कटिबद्ध रहेको दाबी गरे । सल्लेरी च्याल्सा विद्युत कम्पनीको विद्युत करिब ३ दशक पछि विस्तार गर्न मेयरले भुमिका निर्वाह गरेको भन्दै उपभोक्ता समिति अध्यक्ष राजकुमार प्रधानले विद्युत विस्तारसँगै अन्य उद्योगधन्दा स्थापनाको बाटो खुलेको धारणा राखे ।
पोल विस्तार तथा खानेपानी योजना समेतका लागि जग्गा तथा अन्य सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा वडा अध्यक्ष लालमान श्रेष्ठ लगायतले साल्मेका सबै घरमा विजुली पुगेकोमा खुशी ब्यक्त गरेका छन् ।