थुलुङ दुधकोशी : मुक्लीमा बहुमुखी क्याम्पस स्थापनाको तयारी

  सुमेरु संबाददाता

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा प्राविधिक शिक्षालाई जोड दिएको थुलुङ दुधकोशी गाउँपालिकाले मुक्लीमा बहुमुखी क्याम्पस स्थापनाको तयारी थालेको छ ।
प्राविधिक शिक्षाको माध्यमबाट युवालाई गाउँमै रोजगार प्रदान गर्ने लक्ष्य लिएको गाउँपालिकाले क्याम्पस स्थापनाको पनि तयारी थालेको हो । त्यसको लागि सञ्चालक समिति, आर्थिक समिति, विधायन समिति, भौतिक पुर्वाधार तथा धरौटी समिति गठन गरि स्थापनाको प्रक्रिया अघि बढाएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

मुक्ली स्थित विरेन्द्रदोय मावि परिसरमा नै क्याम्पस स्थापना गर्ने र मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकायको अध्यापन गराउने गाउँपालिकाको लक्ष्य रहेको सञ्चालक समिति सदस्य बुद्धिराज राईले बताए । जग्गाको व्यवस्थान भईसकेको छ भने आवश्यक भौतिक पुर्वाधार निर्माण गरि शिक्षा मन्त्रालय अन्तरगत त्रिविबाट सम्बन्धन लिन बाँकी रहेको छ ।

त्रिविबाट सम्बन्धन लिई आगामी शैक्षिक सत्रबाट अध्यापन शुरु गर्ने योजना बनाई तयारीको काम थालेको भौतिक पुर्वाधार तथा धरौटी समितिका सचिव शरणकुमार राईले जानकारी दिए । क्याम्पस स्थापनाका लागि आर्थिक समितिले अहिले १९ लाख भन्दा बढि रकम संकलन गरिसकेको छ । सहयोग संकलन अभियान निरन्तर चल्ने गाउँपालिकाले जनाएको छ ।

अहिले मुक्लीमै ५० शैयाको सुविधासम्पन्न दुधकोशी सामुदायीक अस्पतालको निर्माण चलिरहेको छ । थुलुङ दुधकोशी टेक्निकल कलेज संचालन र लोखिम स्थित जनता माविमा तीन बर्षे बाली विज्ञान अध्ययापनको तयारी पुरा भएको छ भने खेलकुदको पनि हव बनाउने द्येयले सुविधासम्पन्न खेलग्रामको कार्य प्रारम्भ गरिएको छ । गाउँपालिका अध्यक्ष राईले भने, ‘थुलुङ दुधकोशीलाई शिक्षा, स्वास्थ्य र खेलकुदको हव बनाउने द्येय अनुसार काम भइरहेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार