सल्लेरी बजार सिसि क्यामराको निगरानीमा (अन्तरवार्ता)

  सुमेरु संबाददाता

सोलुखुम्बु – बर्षौ देखि थुप्रिएको फोहोर व्यवस्थापनमा सफल देखिएको सोलुदुधकुण्ड नगरपालिकाले पछिल्लो समय आपराधिक क्रियाकलाप न्यूनिकरणका लागि सल्लेरी बजार क्षेत्रमा सिसि क्यामरा जडान गरेको छ । जिल्ला प्रहरी कार्यालयको मातहतमा रहने गरि जडित क्यामराले आपराधिक मानसिकता बोकेका मानिसलाई गलत गर्नबाट एक कदम पछि धकल्ने अपेक्षा राखिएको छ ।

यसअघि नगरपालिकाले फाप्लु, सल्लेरी, पत्ताले क्षेत्रमा सडक बत्ती जडान गरेको छ भने शहरको सौन्दर्यताका लागि टोल सुधार समिति मार्फत साझेदारी कार्यक्रम अन्तरगत गमला वितरण र सडक छेउछाउमा धुपीको विरुवा रोपेको छ । त्यसका अलवा बजार क्षेत्रको सडक र ढल व्यवस्थापनको काम पनि भइरहेको छ । यी र यस्तै समसामयीक विषयमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पासंग गरिएको कुराकानीको सम्पादित अंश ः

सिसि क्यामरा जडान गर्नुको कारण ?
सल्लेरी बजार व्यवस्थित गर्न, चोरी लगायतका घटना बढेको गुनासो आएपछि शान्ति सुरक्षा कायम गर्न र ट्राफिक व्यवस्थापनका लागि सोलुदुधकुण्ड नगरपालिकाले सेर्गाखोप देखि नयाँबजारसम्म १० वटा सिसि क्यामरा जडान गरेका हौ । नगरपालिकाको लगानीमा क्यामरा जडानको काम भएको छ भने अनुगमन तथा निगरानीको काम जिल्ला प्रहरी कार्यालयले गर्नेछ ।

अन्य बजारमा पनि विस्तार गर्नुहुन्छ ?
अब जोरबौद्ध, बसपार्क, फाप्लु एयरपोर्ट आसपास र पत्ताले क्षेत्रमा सिसि क्यामरा जडानको थप योजना छ । जनशक्तिसंगै प्रविधिको प्रयोगबाट आपराधिक घटना न्यूनिकरण गर्नुपर्छ भन्ने द्येय नै हो । निश्चिय नै यदि आपराधिक घटना घटेमा प्रहरीलाई अनुसन्धानको लागि निकै सहज हुनेछ । किनकी, १५ दिनसम्मको दृष्य व्याकअप राख्न सकिन्छ ।

अब नगरको सुन्दरताको कुरा गरौ न, ग्रिन एण्ड क्लिन नगरपालिकाको अवधारणा पुरा हुदैछ ?
ग्रिन एण्ड क्लिन नगरपालिकाको अवधारणा पुरा हुदैछ । हामी निर्वाचित भइसकेपछि बर्षौ देखि थुप्रिएका फोहोर व्यवस्थापन ग¥यो । सल्लेरी, फाप्लु, पत्ताले क्षेत्रमा सडक बत्ती राख्नुले रातको यात्रालाई धेरै सहज बनाएको छ । सुन्दरतालाई ध्यानमा राख्दै करिब ३ सय धुपीका विरुवा सडक छेउछाउमा रोपेका छौ । अर्को बर्ष पुनः थप्नेछ । त्यसको संरक्षणको जिम्मा सरसफाई अन्तरगत टोल सुधार समितिलाई जिम्मा लगाएका छौ । यसले सुन्दरतामा मात्र हैन्, पर्यटन प्रर्वद्धनमा समेत टेवा पु¥याउनेछ । त्यस्तै, नगरको सुन्दरताको लागि आवाडाँडाको हुलाक चोक देखि नयाँ बजारसम्मको सडक निर्माणको काम भइरहेको छ । त्यो काम सम्पन्न हुनासाथ नगरको सुन्दरतामा थप रौनक थपिनेछ । बजार क्षेत्रको ढलको व्यवस्थापनको काम पनि छिट्टै शुरु हुदैछ । त्यसले अझ बजार क्षेत्रलाई सफा देखाउनेछ ।

सडक र ढलको कामले गति लिन नसक्दा सल्लेरीका स्थानीयले गुनासो गर्ने ठाउँ रह्यो नी ?
अलिकति कोभिड १९ का कारणले प्रभावित बनेको हो । निर्माणमा बाहिरी कामदार संलग्न रहेकाले संक्रमण फैलने डरले काम रोकिएको छ । तर केही महिनामै काम सम्पन्न हुन्छ । सल्लेरीको सडक पनि हिजो जस्तो त छैन् । त्यो कुरालाई सकारात्मक तवरले हेरिएको देखिदैन् । हरेक कुरालाई नकारात्मक कोणबाट मात्र हेर्नुपर्छ भन्ने हैन् । सडक बत्ती, सरसफाई लगायतका थुप्रै राम्रा काम भएको छ तर त्यस कामको चर्चा हुदैन् । मात्र, नकारात्मक कुराको चर्चा हुनु दुखद् हो । सल्लेरीको केही खण्डमा पानी परेको बेलामा हिलाम्मे हुन्छ, त्यो स्वभाविक हो । किनकी, निर्माणाधिन अवस्था यस्तो हुन्छ । अबको केही महिना भित्र बाँकी गुनासो पनि रहनेछैन् ।

कक्षा ५ का लागि स्थानीय पाठ्यक्रम तयार भएको सुन्यौ, कस्तो बनेको छ ?
हो, तयार भएको छ । पाठ्यक्रम निर्माण कार्यदलले तयार पारेको पाठ्यक्रम माथी नगरपालिकाका हरेक वडामा सरोकारवालासंग छलफल गरि सुझाव संकलनको काम भइरहेको छ । पाठ्यक्रममा जातजाती, धर्म, संस्कृति, धार्मिक स्थल, भाषा, भेषभूषा, हावापानी, भौगोलिक विविधता, प्राकृतिक स्रोतसाधन र संभावना लगायतका कुरालाई समाबेश गरिएको छ । कान्छा पुस्तालाई नगरपालिका भित्रका सम्पुर्ण ज्ञान दिने गरि पाठ्यक्रम तयार भएको छ ।

पाठ्यक्रम लागु भएपछि हाम्रा बालबालिकाले आफ्नो ठाउँको अवसर, चुनौति, संभावना बारे बुझ्नेछन् र मानसिकता परिर्वतनमा भूमिका खेल्नेछ । त्यस्तै, जन्मभूमिमै अवसर र संभावनाका प्रशस्त बाटाहरु देखाउन सहजीकरण गर्ने आशा राखेका छौ । नगरपालिका भित्र रहेको संभावना र स्रोत साधनको बारेमा थाहा नपाउदा यहाँका मानिस गरिब बन्नु परेको छ भने आर्थिक उपार्जनकै लागि बाहिरिनु पर्ने बाध्यता छ । तर भोली यस्तो समस्या नरहोस् भन्नका लागि स्थानीय पाठ्यक्रमले भूमिका लेख्नेछ ।

थप कुराका लागि भिडियो अन्तरवार्ता –

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार