रीड नेपालको आयोजनामा कविता र निबन्ध प्रतियोगीता

  सुमेरु संबाददाता

सोलुखुम्बु – अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसरमा सोलुखुम्बुमा कविता र निबन्ध प्रतियोगीता आयोजना गरिएको छ । रीड नेपालको आयोजनामा सम्पन्न प्रतियोगीतामा कविता तर्फ जिल्लाभरका ५७ विद्यार्थी र निबन्धतर्फ १७८ विद्यार्थी सहभागी बनेका थिए ।

शिक्षा र साक्षरता सम्बन्धि विषयमा भएको कविता प्रतियोगीतामा सिंहकाली मावि तिङलाकी सुस्मा बस्नेत प्रथम भएकी छिन् । प्रतियोगीतामा गुदेल माविका यूमन खालिङ द्धितीय र थुलुङ दुधकोशी गाउँपालिका नेलेकी सरिना बस्नेत तृतीय भएकी छिन् । कविता प्रतियोगीतामा विरेन्द्रोदय मावि मुक्लीकी दिव्या थुलुङ, महेन्द्रज्योति मावि खुम्बुका पासाङ ङिमा शेर्पा र गार्मा मावि सोलुदुधकुण्डका निर्मल कोइराला सान्त्वना भएका छन् ।

त्यस्तै, तीन तहमा गरिएको निबन्ध प्रतियोगीता तर्फ कक्षा ४ र ५ का विद्यार्थीहरुबीच शिक्षाको महत्व शिर्षकमा भएको प्रतियोगीतामा हुँगा मावि सोताङका आशा राई प्रथम, सिंहकाली मावि तिङलाकी प्रियंका भट्टराई द्धितीय, शहिद नरनाथ आवि नेचाका विशाल विक तृतीय र रामपुर आवि काँकुका सदिप राई सान्त्वना भएका छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थी बीच सामाजिक विकृती न्यूनिकरणमा बाल क्लबको भूमिका शिर्षकमा भएको निबन्ध प्रतियोगीतामा चन्द्रोदय आवि माप्य दुधकोशीका सुक्रम राई प्रथम, दुधकुण्ड हिमालय आवि फाप्लुका दोर्जी तामाङ द्धितीय, काँकु माविका संगीना राई तृतीय र सिंहदेवी आवि माप्य दुधकोशीका मूना राई सान्त्वना भएका छन् ।

यस्तै कक्षा ९ देखि १२ सम्मका विद्यार्थी बीच कोरोना न्यूनिकरणमा आमसमुदायको भूमिका शिर्षकमा गरिएको प्रतियोगीतामा जीवनज्योति मावि थुलुङ दुधकोशीका मनोज बाबु कार्की प्रथम, विपि संस्कृत मावि नेचासल्यानका बर्षा निरौला द्धितीय, हिमालय मावि माप्य दुधकोशीका प्रेक्षा कटेल तृतीय र गणेशथान मावि नेचासल्यानका रेवती श्रेष्ठ सान्त्वना भएको रीड नेपालका शिक्षा विकास अधिकृत अमर बहादुर सिंहले जानकारी दिए ।

प्रतियोगीताका विजेतालाई नगद ३ हजार, २ हजार, १५ सय र एक हजारको साथमा प्रमाण–पत्र तथा सहभागी विद्यार्थीलाई सहभागीतात्मक प्रमाण–पत्र प्रदान गरिने रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए । कोरोना कहरका बीचमा आयोजित कविता र निबन्ध प्रतियोगीतामा अपेक्षा भन्दा बढि विद्यार्थीको सहभागीता रहेको प्रतियोगीताका आयोजक रीड नेपालले जनाएको छ ।

कस्ले के भने,
सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले मानव जीवन रक्षा पहिलो प्राथमिकता रहेको बताए । मेयर शेर्पाले कोरोना कहरको समयमा जीवन रक्षा नै पहिलो प्राथमिकता रहनुपर्ने र दोस्रो प्राथमिकतामा मात्रै शिक्षा लगायतका क्षेत्र पर्ने बताए ।

कोरोनाकै कारण शिक्षा प्रभावित बन्दा आफू पनि दुखित रहेको बताउदै वैकल्पिक शिक्षाका विषयमा छलफल गरिरहेको बताए । रीड नेपालले विषम परिस्थितीमा शिक्षालाई गतिशिल बनाउन गरेको कामको खुलेर प्रशंसा गरेका मेयर शेर्पाले समुदायस्तरमा कोरोना फैलन नदिन प्रभावकारी सावधानीका काम गरेको दावी गरे ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका निमित्त प्रमुख प्रमोद अधिकारीले साक्षरतायुक्त स्थानीय तह घोषणाको अभियान जारी रहेको बताए । तर कोरोना कहरले उक्त अभियान पनि प्रभावित बनेको उनको भनाई थियो ।

कार्यक्रममा रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले खुला जमघट निषेध गरिएको परिस्थितीमा अपनाइएको विधिबाट पनि विद्यार्थीको सहभागीता र प्रतिस्प्रर्धा प्रभावकारी भएको बताए ।

नेपालमा कोरोना कहर शुरु भएपछि विद्यार्थीको सिकाइका लागि रेडियोबाट सिकाइ संचालन गरेको रीड नेपालले रेडियो होम स्कुल मार्फत आधारभूत तह केन्द्रित ५ विषय (नेपाली, अग्रेजी, गािणत, विज्ञान र सामाजिक) बुधबार र शनिबार बाहेकका दिनमा दैनिक रेडियोबाट सिकाउदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार