डिपिआर स्वीकृत, यस्तो बन्दैछ ज्वालामाई मन्दिर क्षेत्र (फोटो र भिडियो)

लागत साढे ११ करोड

  शिखर गजरकोटे

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाले धार्मिक स्थल ज्वालामाइ देवीको मन्दिरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरेको छ ।

मेयर नाम्गेल जाङबु शेर्पाको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिकाको वैठकले नाट्यस्वरी इन्जिनियरिङ कन्सल्टेन्सी काठमाण्डौले तयार पारेको वडा नं ३ तामाखानीमा अवस्थित ज्वालामाइ देवीको मन्दिरको डिपिआर स्वीकृत गरि कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

१८ रोपनी क्षेत्रमा फैलिएको ज्वालामाई मन्दिरलाई पुर्वको मनकामना पनि भन्ने गरिन्छ । मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि सोलुदुधकुण्ड नगरपालिकाले बृहत्तर विकासको काम शुरु भएको हो ।

साढे ११ करोडको लगानीमा डिपिआर अनुसारको संरचना बन्नेछन् । चालु आर्थिक बर्षमा २ करोड बराबरको काम थालनी गर्ने मेयर नाम्गेल जाङबु शेर्पाले बताए । उनले भने, ‘ज्वालामाई मन्दिरलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने सोच सहित बृहत्तर विकासमा लागेका छौ । यो कामको सफलताले सिंगो जिल्लाको प्रतिष्ठा बढाउने छ ।’

विस्तृत जानकारीका लागि भिडियो हेरौँ ।

अन्य निर्णयहरु

कार्यपालिका वैठकले सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेमा निर्माण हुने पार्कको गुरुयोजना स्विकृत गर्दै अनुमानित रकम ७ करोड ७५ लाख ६१ ह्जार ५७१ रुपैँयामध्यको ३५ प्रतिशत लागत साझेदारी गर्ने निर्णय गरिएको नगर प्रवक्ता शारदामाया तामाङले जानकारी दिइन् । सो पार्क निर्माणको योजनालाई समाबेश गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गर्ने निर्णय समेत गरिएको छ ।

त्यस्तै, वैठकले सल्लेरी स्थित तिनकुने देखि नगरपालिकाको कार्यलयसम्म अपांगमैत्री सडक स्तरोन्नतीका लागि २० लाख ७८ हजार ४५३ रुपैँया स्विकृत गरेको छ । नगर प्रवक्ता तामाङका अनुसार कोरोना जोखिमका कारण विद्यालय बन्द रहेको समयमा वडागत अवस्था वडा शिक्षा समितिले अध्ययन गरि वैकल्पिक सिकाइको उपाय अबलम्बन गर्ने, वडा नं ६ को कार्यालय भवन निर्माणका लागि जग्गा खरिद प्रक्रिया अघि बढाउने र वडा नं १ टाक्सिन्दुको होरसिंगा–छाँगा–सामदेल–छि–चोपदेम–पुर्दुसम्मको ट्रयाकओपनको काम अघि बढाउने निर्णय समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार