अस्ताए ‘हिमचितुवा’

आङरिताको आरोहण यात्रा

  सुमेरु संबाददाता

सोलुखुम्बु – विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । आज बिहान १० बजे उहाँको आफ्नै निवास काठमाण्डौको जोरपाटी स्थित छोरीको घरमा निधन भएको हो ।

सोलुखुम्बुको थामेमा जन्मेका ७२ वर्षीय ‘हिमचितुवा’कोे पार्थिव शरीरलाई सोमबार र मंगलबार शेर्पा गुम्बामा राखिनेछ भने बुधबार बौद्ध परम्परा अनुसार दाहसंस्कारको तयारी गरिएको नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए ।

सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका शेर्पाले सन् १९९६ मा अन्तिम पटक विना अक्सिजन सगरमाथामा पाइला टेकेका थिए । उनले सगरमाथा मात्रै नभएर विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरी लगायत दर्जनौँ हिमालको पटक पटक आरोहण आरोहण गरेका थिए ।

आङरिताको आरोहण यात्रा
सन् १९४८ मा जन्मेका आङरिताको पुख्र्यौली पेशा चौरीपालन भएपनि १५ वर्षकै उमेरदेखि आरोहणमा लागेका थिए । पहिलो पटक करीब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गरेका शेर्पाले विनाअक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए ।

आरोहणका क्रममा बिरामी भएपछि आङरिताले आरोहण यात्रा रोकेका थिए । सगरमाथा आरोहणमा नजानुको मुख्य कारण उनी बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए । गोपीकृष्णमा भाडाका कोठामा बस्नुभएका शेर्पालाई भेट्न आएका दीपेन्द्रले ‘बुबा (वीरेन्द्र) ले आरोहणबाट सन्न्यास लेऊ भन्ने हुकुम भएको छ ।’ त्यसपछि उहाँ आरोहणमा नगएको परिवारको भनाइ छ ।

त्यसबेला राजा वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारसँगको भेटमा भन्ने गरेका थिए । सन् १९९६ तिर दीपेन्द्रले “दरबार आउनू” भनेको भएपनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता तक्माबाट भने सम्मानित भएका थिए ।

दश पटकको विश्व कीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखेपनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उनकी छोरी डोमा बताउछिन् ।

यद्यपि उनको आर्थिक अवस्था दयनीय भएको जनाउँदै नेपाल पर्वतारोहण सघले नियमित सहयोग गर्दै आएको छ । छोरीका अनुसार पर्वतारोहण सघले मासिक १५ हजार रुपैयाँ दिँदै आएको छ । आङरिताका तीन छोरा र एक छोरी छन् ।

जेठ छोरा कर्साङ आरोहण पेशामै छन् । माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा छन् र कान्छा छोरा फुरानुरु खुम्बुमै चौरी धपाउने काम गर्छन् । छोरी डोमा जोरपाटीमा छिन् । आङरिता उनै छोरीसँग बस्दै आएका थिए । उनको पत्नीको निधन सात वर्षअघि नै भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार