थुलुङ दुधकोशी गाउँपालिका : बैँकिङ प्रणालीबाट सामाजिक सुरक्षा भक्ता

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले बैँकिङ प्रणालीबाट सामाजिक सुरक्षा भक्ता वितरणको तयारी थालेको छ ।

मंगलबार एक सूचना जारी गर्दै सरकारले प्रदान गर्ने सवै प्रकारका सामाजिक सुरक्षा भक्ता वितरण प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन मुक्ली र नेलेमा रहेको लक्ष्मी बैँकमा खाता खोल्नका लागि सम्बन्धित सवैमा आग्रह गरिएको छ । चालु आर्थिक बर्षको पहिलो चार महिनाको भक्ता वितरण बैँकिङ प्रणालीबाट गर्ने तयारी स्वरुप सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।

दुधकोशी पारिका जुबु र लोखिमका बृद्ध, असाहय लागि लक्ष्मी बैँकसंग सहकार्य गरेर गाउँगाउँमा बैँकिङ शिविर संचालन गर्ने विषयमा छलफल भएको प्रवक्ता तथा वडा नं ९ लोखिमका वडाअध्यक्ष भूपाल सिंह राईले जानकारी दिए । उनले भने, ‘राष्ट्रिय परिचय पत्र तथा पंजिकरण विभागको पत्र अनुसार सामाजिक सुरक्षा भक्ता वितरणमा बैँकिङ प्रणाली अपनाउने निधो गरेका हौँ । यसले राज्यको एक व्यक्ति, एक बैँक खाता अभियानलाई पनि सहयोग पु¥याउनेछ भने आर्थिक पारदर्शीतामा समेत टेवा दिनेछ ।’

‘बैँकिङ प्रणाली अनुसार सामाजिक सुरक्षा भक्ता लिनेको सूचीमा नाम भएका व्यक्तिले बैँकमा खाता खोल्नेछ । सो खातामा गाउँपालिकाले भक्ता वापतको रकम जम्मा गरिदिनेछ ।’ प्रवक्ता राईले भने, ‘जम्मा भएको रकम खातावालाले बैँकमा पुगेर झिक्न सक्नेछन् । यदि बैँकसम्म धाउन नसक्नेका परिवारका सदस्यले सहयोग गर्ने छन् भने एकल व्यक्तिलाई जनप्रतिनिधिहरुले सहयोग गर्नेछन् ।’

प्रवक्ता राईका अनुसार वडा नं ४ र ५ जुबु र वडा नं ९ लोखिमका लागि सुकेपोखरीमा लक्ष्मी बैँककै शाखा स्थापना गर्ने विषयमा पनि छलफल अघि बढेको छ । सुकेपोखरीबाट पनि बैँकिङ सेवा शुरु भए दुधकोशी पारीका तीन वडाका नागरिकले बँैकिङ सुविधा लिनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार