वडाअध्यक्ष तामाङको अन्तिम विदाई (भिडियो)

नेकपा माप्य दुधकोशीले आधा झण्डा झुकाउने

  सुमेरु संबाददाता

सोलुखुम्बु – करेन्ट लागेर ज्यान गुमाएका सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ५ काँकुका वडाअध्यक्ष निमराज तामाङको अन्त्यस्टी गरिएको छ । तामाङको पुख्यौली गाउँ काँकुमा बौद्ध परम्परा अनुसार आज अन्तिम संस्कार गरिएको छ ।

वडाअध्यक्ष तामाङको मंगलबार सल्लेरीमा करेन्ट लागेर ज्यान गएको हो । तामाङको पार्थिव शरिरलाई काँकु लैजानु अघि सल्लेरी स्थित उनकै घरमा आयोजना गरिएको श्रद्धान्जली सभामा नेकपाका नेताहरुले पार्टीको झण्डा ओढाएर अन्तिम विदाई गरेका थिए । प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’, प्रदेश सभा सदस्यहरु बुद्धि कुमार राजभण्डारी र उत्तम कुमार बस्नेत, जिल्ला समन्वय समिति संयोजक वीर कुमार राई लगायतका जनप्रतिनिधि तथा नेताहरुले पार्टीको झण्डा ओढाएर र स्वर्गीय तामाङका परिवार, आफन्त र शुभचिन्तकले अन्तिम विदाई स्वरुप खादा अर्पण गरेका थिए ।

तामाङलाई श्रद्धान्जली दिन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, कांग्रेस सोलुखुम्बुका सभापति विनोदबाबु बस्नेत लगायतका सयौँ शुभचिन्तक सल्लेरी स्थित तामाङ निवास पुगेका थिए ।

नेकपा माप्य दुधकोशीले आधा झण्डा झुकाउने
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) माप्य दुधकोशीले नेकपा नेता निमराज तामाङको सम्मानमा ३ दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

माप्य दुधकोशी गाउँपालिका ५ काँकुका वडाअध्यक्ष तथा नेकपा माप्यदुधकोशीका सदस्य तामाङको निधन प्रति दुख व्यक्त गर्दै बुधबार देखि शुक्रबारसम्म (तीन दिन) कार्यालयमा पार्टी झण्डा आधा झुकाउने र बुधबार पार्टी कार्यालयमा श्रद्धान्जली सभा आयोजना गर्ने नेकपा गाउँ कमिटी अध्यक्ष गौरव राईद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै, नेपाल लेखापढी व्यवसायी एसोसियसन सोलुखुम्बुले स्वर्गीय तामाङको सम्मानमा बुधबार लेखापढी सम्बन्धी कामकाज बन्द गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार