कोरोना प्रभाव : सगरमाथा राष्ट्रिय निकुञ्जको बजेट ५ करोड घट्यो

स्थानीय विकास प्रभावित हुने

  सुमेरु संबाददाता

सोलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी हिमाली भेग सोलुखुम्बुमा अवस्थित छ । सगरमाथा, ल्होत्से, नुप्त्से, चोयु, आमादब्लमहिमालहरू तथा यस वरिपरिको क्षेत्रको ओगटेको निकुञ्ज ११४८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । वन्यजस्तुको संरक्षण र मध्यवर्ती क्षेत्रको विकासमातल्लिननिकुञ्जको चालु आर्थिक बर्षको बजेट ह्वात्तै घटेको छ । कारण हो, कोरोनाभाइरस ।

आर्थिक बर्ष २०७५–७६ माखुम्बु प्रवेश गर्ने पर्यटकको संख्या ५८ हजारको हाराहारीमा थियो । ती पर्यटकबाट संकलन भएको राजस्वको आधारमा आर्थिक बर्ष २०७६–७७ मा सगरमाथा राष्ट्रिय निकुञ्जको बजेट ८ करोड ९ लाख थियो तर २०७६–७७ को एउटा सिजन कोरोनाका कारण प्रभावित बनेपछि पर्यटकको संख्या ३२ हजारमा खुम्चियो । जस्ले, चालु आर्थिक बर्ष २०७७–७८ को बार्षिक बजेट ५ करोड घटेर ३ करोड १३ लाखको अख्तियारी प्राप्त भएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार आन्तरिक तथा बाह्रय पर्यटकबाट संकलनभएको राजस्वको ३० देखि ५० प्रतिशत निकुन्जको बजेटको रुपमा प्राप्त हुने व्यवस्था राष्ट्रिय निकुन्ज ऐनमा लिखित छ । कोरोनाकै कारण चालु आर्थिक बर्षको सिजन समेत प्रभावित बनेकाले अर्को बर्ष निकुञ्जको बार्षिक बजेट अझ न्यून हुने संकेत मिल्दछ ।

बजेट घट्दै जानुले स्थानीय गोरेटो बाटो निर्माण, वन्यजन्तुको संरक्षण तथा अध्ययन, तालिम लगायतका काम खुम्चनेछ ।मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनामग्याल्जेन शेर्पा, निकुञ्जको बजेट घट्नुले स्थानीयविकास प्रभावित बन्नेमा कुनै सन्देश नभएको बताउछन् । उनले भने, ‘विश्वव्यापी कहरलाई हामीले पनि बुझ्नुपर्छ । बजेट घट्नुले स्थानीय विकास प्रभावित हुनेछ ।’

मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ अनुसार चौरीखर्क, खुम्बिला र नाम्चे उपभोक्ता समितिबाट प्रतिनिधित्व गर्ने गरि मध्यवर्ती व्यवस्थापन मूल समितिले निकुञ्ज संग मिलेर काम गरिरहेको छ । निकुञ्जलाई प्राप्त बजेट ४ भागमा विभाजन गरेर उपभोक्ता समिति र व्यवस्थापन समितिबाट बार्षिक योजना माग गरिन्छ ।

समितिले योजना बनाउदा संरक्षणमूलक योजनामा ३० प्रतिशत, सामुदायीक विकासमा ३० प्रतिशत, आयआर्जनका कार्यक्रममा २० प्रतिशत, संरक्षण शिक्षा र पशासनिक खर्चमा १०–१० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने प्रावधान रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार