सल्लेरीमा शेयर बजार सम्बन्धि सचेतना

नागरिकलाई राहत महसुस

  सुमेरु संबाददाता

सोलुखुम्बु, चैत्र २०

नेपाल धितोपत्र बोर्डको सहकार्यमा विश्व बैङ्क समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्रामीण लगानीकर्ताहरुमा शेयर बजार विषयक सचेतनामूलक कार्यक्रम गरेको छ । सल्लेरीमा आयोजित लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिवृद्धि र अध्ययन अनुसन्धानमा प्रोत्साहन तथा व्यवसायिकता विकास कार्यक्रमको अबसरमा शेयर किन्दाको जोखिम र लाभबारे जानकारी दिईएको हो ।

कार्यक्रममा सहभागीले सचेतना कार्यक्रम प्रभावकारी बनेको बताएका छन् । ग्रामिण भेगमा सुनेको भरमा लगानी गर्दै आएका सर्वसाधारणलाई जिल्लामै पहिलोपटक भएको कार्यक्रमले आधारभूत जानकारी दिलाएको तिङलाकी मन कुमारी बस्नेतले बताईन् । उनले भनिन्, ‘शेयरको फाईदाको बारेमा विस्तृत जानकारी थिएन् । आज धेरै कुरा बुझ्न पाए ।’ सचेतना अपनाउन पुग्ने जानकारी पाएको बस्नेतको भनाई छ ।

शेयर सम्बन्धी जानकारी दिदैँ नेपाल धितोपत्र बोर्डका निर्देशक तेजप्रसाद देवकोटा ।

आईएफसीको स्थानीय शेयर सम्बन्धि अध्ययनको निष्कर्षको प्रस्तुती गरिएको छ भने नेपाल धितोपत्र बोर्डद्वारा शेयर खरिद विक्री, कारोबार गर्ने तरिका, लगानीका लाभ र जोखिमसहितका धितोपत्र बजार बारे जानकारी दिईएको हो । कार्यक्रममा स्थानीय तहका अधिकारीहरू, नागरिक समाजका नेतृत्वकर्ता, महिला समूहका सदस्य तथा विभिन्न समुदायका सदस्यहरू सहभागी बनेका थिए ।

नेपालका जलविद्युत् आयोजनाहरूले जारी गरेको शेयरहरुमा स्थानीयको माग बढ्दै गएतापनि जोखिमहरूबारे राम्रोसँग नबुझी, अरुकोे लहलहैमा, परिवार तथा साथीभाइको सुझावका आधारमा लगानीको निर्णय गर्ने गरेको आईएफसीले निष्कर्ष निकालेको छ । लगानीकर्तामा रहेको ज्ञानको अभाव पूरा गर्न सम्भाव्य सेयरधनी, विपन्न एवं जोखिमयुक्त समुदायलाई लक्षित गरेर धितोपत्र बोर्डले पनि सचेतना गर्दै आएको जनाएको छ ।

अधिकांश लगानीकर्ताहरूले स्थानीय शेयर खरिदका लागि ऋण वा बचतको प्रयोग गर्ने गरेका छन् । धितोपत्र बोर्डका निर्देशक तेजप्रसाद देवकोटाले भने, ‘शेयर बजारको खरिद विक्रिका विषयमा लगानीकर्तामाझ यर्थाथ जानकारी पु¥याउन सचेतना कार्यक्रमको योजना बनाएका हौ ।’ आईएफसीको कन्सल्ट्यान्ट सोफिया खातुन तमोटले शेयरधनीहरूका लागि सूचना प्रणालीमा पारदर्शिता तथा जवाफदेहिता बढाउन आवश्यक रहेको बताए । उनले भने, ‘निजि कम्पनीको हकमा सेयर वितरण प्रणालीको विकल्पहरुको पनि विचार गर्नु पर्ने निष्कर्ष निकालेका छौ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार