१० महिनामै बन्यो, मोटरेबल पुल

सरोकारवाला भन्छन्, नमूना विकासको उदाहरण

  सुमेरु संबाददाता

सोलुखुम्बु, चैत्र २३

सोलुदुधकुण्ड नगरपालिका ६ खोरिया स्थित सोलुखोलामाथी बनेको मोटरेबल पुल १० महिनामै निर्माण सम्पन्न गरि उद्घाटन गरिएको छ । नगरपालिकाकोे नेतृत्वमा अपर सोलु हाईड्रो पावर र जिल्ला समन्वय समितिको सयुंक्त लगानीमा निमार्ण सम्पन्न ३० मिटर लामो मोटरेबल पुलको मेयर नाम्गेल जाङबु शेर्पाले उद्घाटन गरेका हुन् ।

खोरिया स्थित सोलुखोलामाथी बनेको पुल उद्घाटन गर्दै मेयर शेर्पा

मेयर शेर्पाले बेलीडाडा–साल्मे सडकको बैकल्पिक मार्गको रुपमा प्रयोग गर्ने खोरिया बाघखोर सडक संचालनको बाटो खुलेको बताए । ‘उनले भने, सिस्नेरी पहिरो रोकथामको विकल्प नपाईरहेको अवस्थामा बाघखोर–खोरिया सडक वैकल्पिक रुपमा संचालन आउनु खुसिको कुरा हो । यसले यात्रु र सवारी चालकलाई समेत सहज बनाएको छ ।’ मेयर शेर्पाले तामाखानी, बेनी लगायतका क्षेत्रमा निर्माणाधिन तिन वडा मोटरेबल पुल आगामी तिन हप्ता भित्र उद्घाटन गर्ने दाबी गरे । हरेक वडामा सडक सञ्जाल जोडिएकाले दिगो यातायात संचालनका लागि चार वटा मोटरेबल पुलको टेण्डर प्रक्रिया थाल्ने तयारीमा रहेको मेयर शेर्पाले बताए ।

७५ टन भारवहन क्षमता भएको खोरिया पुल नगरपालिकाले विकास बजेट, अपरसोलु हाईड्रो पावरले सामाजिक उत्तरदायित्वको रकम र तत्कालिन जिल्ला विकास समितिको बजेट गरि करिब ५ करोडको लगानीमा निर्माण सम्पन्न गरिएको हो । निर्माणको जिम्मा सिई कम्पनीले लिएको थियो । तोकिएकै समयमा गुणस्तरिय पुल निर्माण हुनु खुसीको कुरा भएको मेयर शेर्पाले बताए । नेपाने यूवा क्लब खोरियाको आयोजनामा भएको उद्घाटन कार्यक्रममा अपर सालु हाईड्रो पावरका साईड ईन्चार्ज मार्कन्डेय न्यौपानेले सामाजिक उत्तरदायित्व पुरा गर्न कुनै करत बाँकी नराखेको दाबी गरे । उनले आगामी दिनमा समेत आवश्यकताको आधारमा समुदायसँग समन्वय गरेर काम गर्न पछि नहट्ने प्रष्ट पारे ।

नेपाने क्लबका अध्यक्ष ङिमा शेर्पाको हातबाट सम्मानपत्र ग्रहण गर्दै मेयर शेर्पा

कार्यक्रममा पर्यटन व्यबसायी बच्चुनारायण श्रेष्ठल कृषि र पर्यटनको विकास र बिस्तारबाट मात्र सम्बृद्धि सम्भव रहेको बताए । क्लबका अध्यक्ष ङिमा शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका ६ का वडाध्यक्ष रामकुमार श्रेष्ठले आगामी आर्थिब बर्षमा सडकको स्तरउन्नती गरेर बाह्रै महिना सडक संचालनमा गर्ने बताए । नेपाने यूवा क्लबका सल्लाहकार आङदोर्जी शेर्पाले सदरमुकामको नजिक बत्तिमुनीको अध्याँरोमा खोरियामा विकासको उज्यालो देखिन थालेको बताए । उने भने, ‘सदरमुकाम ओहोरदोहोरमा दैनिक तिन घण्टा खर्चनुपर्ने बाध्यता अब हट्नेछ । निरन्तर सडक संचालनमा स्थानीय तहले आगामी दिनमा सहयोग गर्छ भन्नेमा विश्वास छ ।’

मेयर शेर्पाको हातबाट सम्मान ग्रहण गर्दै अपर सोलु हाईड्रो पावरका साईड ईन्चार्ज मार्कन्डेय न्यौपाने

पुल समयमै सम्पन्न गर्नका लागि खारिया क्षेत्रका नागरिकको पनि अहम भूमिका रहेको सरोकारवालाले बताएका छन् । पुलसंगै ग्रामिण सडक संचालनमा आएपछि कृषि उत्पादनमा जोड दिनुपर्ने उनीहरुले बताएका छन् । खोरिया र भित्ताखर्कका नागरिकले विकासको ढोका खुलेको प्रतिक्रिया दिएका छन् । सदरमुकामका लागि आवश्यक तरकारी उत्पादन हुने क्षेत्रमा सडक पुगेसंगै आधुनिक कृषि व्यवसायमा पनि टेवा पुग्ने विश्वास लिईएको छ । पुल बनेपछि सल्लेरी आईपुग्नका लागि बेलिडाँडा र तिङलाको फेरो घुम्नुपर्ने बाध्यता हट्ने भएको छ । सवारी चालकले छोटो दुरीका लागि बाघखोर–भित्ताखर्क–खोरियाको सडक विकल्पमा रोज्न सक्ने वातावरण बन्दै गएको छ ।

मेयर शेर्पाको हातबाट सम्मान ग्रहण गर्दै सिइ कन्ट्रक्सनका कार्यक्रम व्यवस्थापक

कार्यक्रमको अबसरमा विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान समेत गरिएको छ । जनमूखि विकासमा नेतृत्व गरेको भन्दै सोलुदुधकुण्ड नगरपालिका, पुल निर्माणमा योगदान गरेको भन्दै अपरसोलु हाईड्रोपावर र निर्माण कम्पनी सिई कन्ट्रक्सनलाई सम्मान गरिएको छ । पुल निर्माणका लागि जग्गादाता संगै राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि ब्याटमिन्टन खेलमा प्रदेशस्तरिय प्रतिस्प्रर्धाबाट छनौट हुन सफल स्थानीय पेम्बा शेर्पालाई पनि सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार