कस्ता विद्यालय छनोटमा ?

‘बाबुको स्कुल बदल्नु छ । लौ न, कुन स्कुल राम्रो होला ?’ एकजना मित्रले सोध्नुभयो । नयाँ शैक्षिक सत्रसँगै छनोटको विकल्प भएका सहरका अभिभावकसँग यस्तो जिज्ञासा हुनु राम्रो हो । सामुदायिक वा निजी, विद्यालय छनोट गर्दा सुझबुझपूर्ण निर्णय गर्नैपर्छ । अस्पताल छान्दा जति ध्यान दिइन्छ, विद्यालय छान्दा पनि उति नै ध्यान दिनुपर्छ । उपयुक्त विद्यालय परेन भने बालबालिकाको जीवन बर्बाद हुनसक्छ । ती अभिभावकको प्रश्नले मनमा अरू विचार पनि जन्मायो । सरकारले सबै विद्यालयको सुविधा, विशेषता र खर्चसहितको जानकारीमूलक सामग्री उपलब्ध गराएको भए छनोटमा कति सहज हुन्थ्यो होला । जे होस्, अहिलेलाई त्यो सम्भव नभएपछि मैले केही निचोड निकालेँ । यदि मैले आफ्ना सन्तानलाई विद्यालय छनोट गर्नुप¥यो भने कस्ता पक्षमा ध्यान दिन्थेँ त ?

दण्ड र भयरहित विद्यालय
सिकाइ जटिल प्रक्रिया हो । विद्यार्थी विद्यालयमा नयाँ कुरा सिक्न जान्छन् । सिक्नका लागि शारीरिक तथा मानसिक दुवै रूपमा सुरक्षित वातावरण चाहिन्छ । यदि विद्यालयमा कुनै पनि बहानामा दण्ड दिइन्छ वा त्रसित बनाइन्छ भने, त्यस्ता विद्यालय मेरो रोजाइमा पर्दैन । दण्ड, सजाय, डर र त्रासले सिकाइ होइन, बालबालिकामा मानसिक रोग सिर्जना गर्छ । बालबालिका विद्यालय जाने वेला रुने, न्याउरो मुख लगाउने, बहाना बनाउनुको कारण यही हो । उनीहरू मानसिक रूपमा तयार नभएसम्म सिकाइ हुनै सक्दैन । त्यसैले यस्ता विद्यालयमा अरू पक्षजति नै राम्रो भए पनि बालबालिका पठाउनुहुँदैन ।

विद्यालयको नेतृत्व
विद्यालयलाई कस्तो बनाउने भन्ने कुरा त्यहाँका प्रधानाध्यापक तथा अन्य नेतृत्वमा बसेका व्यक्तिमा निर्भर गर्छ । शिक्षा, सिकाइ र बालबालिकाप्रतिको उनीहरूको दृष्टिकोण, सोच र व्यवहार जस्तो छ, त्यहीअनुसारको नीति तथा निर्णय कार्यान्वयन गरिन्छ । जस्तै अरू भाषालाई प्रतिबन्ध लगाएर, पञ्चायतको जस्तो एक भाषाको नीति लिनु । त्यस्तै, झोलाभरि किताबको भारी र रातभरि पनि नभ्याइने गृहकार्य दिनु । कुनै अध्ययनविनै हचुवाका भरमा यस्ता अव्यावहारिक निर्णय गरिन्छ भने त्यहाँ नेतृत्वको संकट छ भनेर बुझ्नुपर्छ । साथै अध्ययन तथा आफ्नो क्षमता विकास नगर्ने नेतृत्वको उदाहरण पनि हो यो । म यस्तो नेतृत्व भएका विद्यालयदेखि वेलैमा सजग हुन्छु । साथै, विद्यालय राम्रो बनाउन शिक्षकले केही नयाँ तरिका अपनाउन खोज्दा हौसला दिने
नेतृत्व हुनैपर्छ ।

सिकाउने विधि
उचित शैलीविना सिकाउन खोज्ने विद्यालय भनेको ढोकाविनाको कोठाजस्तै हो । त्यसैले विद्यालय छनोट गर्दा शिक्षकको समूह, उनीहरूको पेसागत क्षमता र पढाउने शैलीबारे जानकार हुनुपर्छ । विद्यार्थीलाई मात्रै गृहकार्य दिने तर आफू गृहकार्य नगर्ने शिक्षकबाट जोगिनुपर्छ । बरु सिकाइमा बालबालिकालाई नै अगाडि सार्ने, व्यक्तिगत कार्य, समूहकार्य, प्रस्तुतीकरण, छलफल, वादविवाद, अन्तत्र्रिmयाका अवसर दिने विद्यालय उपयुक्त हुन् । खेल तथा गीतको प्रयोग गरी रमाइलो ढंगले शिक्षण गर्नाले बालबालिको सिकाइ प्रभावकारी हुन्छ । त्यस्तै, विषयवस्तुलाई थप स्पष्ट पार्न प्रविधिको प्रयोग गर्ने, अतिरिक्त क्रियाकलाप गर्ने गरी थप सिकाइका अवसर प्रदान गरिनुपर्छ । अर्कोतर्फ धेरै किताब र विषयवस्तु मात्रै पढाउने, बालबालिकालाई बिहानै, दिउँसै, बेलुकै जतिवेला पनि पढाइमा व्यस्त बनाउने विद्यालय पनि उपयुक्त होइनन् । तपाईं–हामी त ८ घन्टा काम गरेपछि फत्रक्कै गल्छौँ । एउटा किताब समातेर एक घन्टा टिक्न गाह्रो छ । अनि बालबालिकाबाट त्यस्तो अपेक्षा राख्नु अव्यावहारिक होइन ? किताबभन्दा बाहिर पनि सिक्ने धेरै कुरा छन् । उनीहरूले जीवनोपयोगी सीप सिक्नुपर्नेछ । आफ्नो प्रतिभा प्रष्फुटन गर्नु छ । शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, संवेगात्मकलगायत पक्षको पनि विकास गराउनुपर्नेछ । अनि किताबमा मात्रै भुलाएर पाठ्यक्रमले तोकेको ‘सर्वांगीण विकास’ होला ?

स्थान तथा भौतिक व्यवस्था
म सकेसम्म विद्यालय पायक पर्ने ठाउँमा हेर्छु । साना नानीबाबुलाई यो अपरिहार्य हुन्छ । पायक पर्ने ठाउँमा हुँदा आफू पनि त्यहाँ वेलाबखतमा पुगिने र नानीबाबुको प्रगति बुझ्ने सम्भावना बढ्छ । साथै, उनीहरू आउने–जाने बाटोको समय, थप खर्च र यात्रामा हुनसक्ने जोखिमबाट पनि जोगिन्छ । विद्यालय व्यस्त मोटर बाटो, धुलो, धुवाँ, दुर्गन्धबाट परै हुनुपर्छ । यदाकदा विद्यालय बसोवासका लागि बनाइएका घरमा पनि सञ्चालन भएका पाइन्छन् । जहाँ बालबालिकालाई पर्याप्त खेल्ने ठाउँ हुँदैन । कक्षाकोठा साँघुरा हुने र हिँड्ने ठाउँ पनि फराकिलो नहुने विद्यालयमा साँघुरा कक्षाकोठाजस्तै बालबालिकाको मस्तिष्क पनि साँघुरो हुने सम्भावना रहन्छ । भौतिक पक्षको कुरा गर्दा न्यूनतम प्रविधि, प्रयोगशाला तथा उपयुक्त पुस्तकालय अपिरहार्य हुन् । अर्कोतिर, परिसरमा रूख–बिरुवा तथा हरियाली हुनुपर्छ । जसले गर्दा बालबालिकाको मन बहलाउन मद्दत पुग्छ ।
अन्त्यमा, धेरै प्रचारबाजी मात्रै गर्ने र अभिभावकको कुरा खासै नसुन्ने विद्यालय पनि हाम्रा लागि उपयुक्त होइनन् । विद्यालय छनोट गर्दा ‘सबै निजी राम्रा र सामुदायिक विद्यालय नराम्रा’ भन्ने मान्यता त्याग्नुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार