सहभागीलाई उसनेको ‘फर्सी’ र ‘सुठुनी’

एक दिन हैन, सधैँ खुवाउनुपर्छ

  सुमेरु संबाददाता

सोलुखुम्बु, चैत्र २७

अचेल प्रायः गाउँघरमा पनि बजारमा उपलब्ध हुने प्याकेटका जंकफुड नै प्रयोगमा ल्याएको पाईन्छ । विरलै मात्र स्थानीय उत्पादन खाजाको रुपमा प्रयोग गरिन्छ । तर सोमबार थुलुङ दुधकोशी गाउँपालिका ७ देउसाको एक कार्यक्रमका सहभागीलाई स्थानीय उत्पादन खाजाको रुपमा वितरण गरियो । अर्गानिक खाजा अतिथीहरुले पनि मज्जा मानेरै खाए ।

वडाको आयोजना तथा सगरमाथा सर्तकता समाजद्धारा संचालित सुशासन प्रर्वद्धन परियोजनाको सहजीकरणमा सम्पन्न सार्वजनिक सुनुवाईमा सहभागी सर्वसाधारणलाई खाजाको रुपमा स्थानीय स्तरमा उत्पादित फर्सी, सुठुनी (सखरखण्ड) आलु उसनेर खाजाको रुपमा वितरण गरिएको थियो । चिया र विस्कुट खाजामा खाईरहेका देउसालीले अर्गानिक खाजा खान पाएपछि खुसी व्यक्त गरे । देउसाका चतुरमान तामाङले वडा कार्यालयले खाजाको रुपमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नु राम्रो विषय भएको बताए । उनले भने, ‘आगामी दिनमा पनि निरन्तर स्थानीय अर्गानिक उत्पादनलाई खाजाको रुपमा प्रयोग गर्दै लैजानुपर्छ । बल्ल, स्थानीयलाई पनि उत्पादनमा हौसला मिल्छ ।’

होटलको सुविधा भएको स्थानमा चाउमिन र म.म बाहेक अरु वस्तु खाजाको रुपमा प्रयोग हुदैन् । भुटेको मकै, भटमास लगायतका स्थानीय उत्पादनलाई खाजाको रुपमा प्रयोग गर्न सके कृषकलाई समेत ऊर्जा थपिने सर्वसाधारणको भनाई छ । वडाअध्यक्ष रामसघर्ष किराँतीले अर्गानिक खाजा खादा स्वास्थ्यलाई समेत फाईदा हुने बताए । बजारको विस्कुट र चाउचाउले फाईदा नगर्ने भएकाले अर्गानिक खाजा खुवाउन शुरु गरेको बताए । उनले भने, ‘वडाको यो कदमले स्थानीय कृषकलाई पनि उत्पादनमा सहयोग पु¥याउछ भन्ने विश्वास लिएका छौ ।’

९ वडा रहेको गाउँपालिकामा वडा नं ७ ले नमूना वडाका लागि उल्लेख्य कोशिस गर्दै आएको छ । स्थानीय तहको विस महिनामा २९ रोपनी जग्गा निशुल्क प्राप्त भएको छ । वडा कार्यालय भवन, शुक्रबारे हाटबजार व्यवस्थापन, खेलमैदान र एकिकृृत नमूना वस्तिको लागि निशुल्क जग्गा प्राप्त भएको वडाले जनाएको छ । साथै, वडाले अन्य वडाको दाँजोमा दोस्रो चौमासिकसम्म सबैभन्दा बढि दुई लाख ७७ हजार रुपैयाँ राजस्व गाउँपालिकाको खातामा दाखिला गरिसकेको छ भने आर्थिक बर्षको अन्त्यसम्ममा राजस्व साढे तिन लाख सम्म पु¥याउने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार