हलेसीमा ‘पर्यटक सूचना केन्द्र’ स्थापना

सांसद भट्टराई भन्छन्, पर्यटकमैत्री व्यवहार आवश्यक ।

  सुमेरु संबाददाता

खोटाङ, चैत्र २९

दित्तेल रुपाकोट मझुवागढी नगरपालिकाले त्रिधार्मिक स्थल हलेसीमा पर्यटक सूचना केन्द्र स्थापना गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले सूचना केन्द्रको उद्घाटन गरेका हुन् ।

हलेसीमा पुग्ने पर्यटकलाई दित्तेलका मझुवा कालिका भगवति मन्दिर लगायतका पर्यटकीय स्थानमा आकर्षण गर्नका लागि स्थापना गरिएको सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै सांसद भट्टराईले पर्यटक आवागमनलाई बृद्धि गर्न पर्यटकमैत्री व्यवहार आवश्यक रहेको बताए । पर्यटकीय स्थानमा आवश्यक पुर्वाधार निर्माण र पर्यटकमैत्री व्यवहार गर्न सके पर्यटक आँफैले प्रचार गर्ने सांसद भट्टराईले बताए ।

हलेसी तुवाचुङ नगरपालिकाको समन्वयमा स्थापना गरिएको सूचना केन्द्रको सहयोगमा पर्यटकहरुलाई हलेसी जायाजुङ, अर्खौले स्थित गुप्तेश्वर, बुईपाको एलम्वरको प्रतिमा, सितादेवी मन्दिर, आँखा पोखरी, हुर्लुङमा संचालित होमस्टे, रुपाकोट डाँडा, बगरेभन्ज्याङमा रहेको पोखरी र टावर लगायतका क्षेत्रमा पु¥याउने आशा राखिएको छ । दित्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले हलेसी दर्शन पछि धार्मिक मान्यता पुरा गर्नका लागि दित्तेल स्थित मझुवा कालिका भगवति मन्दिरमा पुगेर दर्शन गर्नपर्ने आस्थाका विषयमा प्रचारमा लैजान आग्रह गरे ।

कार्यक्रममा प्रदेश सांसद, पुर्व सभाषद् तथा सांसद, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । सूचना केन्द्र चौविसै घण्टा खुला रहनेछ भने दित्तेल रुपाकोटका संभावित पर्यटकीय क्षेत्रको बारेमा तयार पारिएको श्रव्यदृष्य, ब्रोसर लगायतका सामाग्री वितरण गरिने नगरपालिकाको तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार