उत्कृष्ट तिन विद्यालय पुरस्कृत

शैक्षिक सुधारको अपेक्षा

  सुमेरु संबाददाता

सोलुखुम्बु, चैत्र २९

माप्य दुधकोशी गाउँपालिकाका तिन उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिएको छ । गाउँपालिकाले लिएको कक्षा ८ को परिक्षामा सहभागी १३ विद्यालयमध्ये उत्कृष्ट अंक ल्याएका बासाखाली माध्यमिक विद्यालय, काँकु माध्यमिक विद्यालय, भेडाचौर र हिमालय माध्यमिक विद्यालय बासाले नगद पुरस्कार पाएका हुन् ।

गाँउपालिकाका अनुसार बासाखालीले ४१ दशमलव २९ प्रतिशत, काँकुले ३९ दशमलव ६६ प्रतिशत र हिमालयले ३९ दशमलव ६२ प्रतिशत अंक प्राप्त गरेको छ । ती विद्यालयलाई गाउँपालिका अध्यक्ष बुद्धिकिरण राइले नगद पुरस्कार ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ वितरण गरेका हुन् ।

सोही कार्यक्रममा दुई विद्यालयका तिन विद्यार्थी समेत पुरस्कृत भएका छन् । कक्षा ८ को परिक्षामा उत्कृष्ट अंक ल्याएर पास गर्ने हिमालय माविका धर्मेन्द्र राई, बासाखाली माविका अर्जुन राई र जोरीमाया राईलाई पुरस्कार प्रदान गरिएको हो । परिक्षामा प्रथम, द्धितीय र तृतीय हुने उनीहरुलाई नगद १० हजार, ८ हजार र ६ हजार प्रदान गरिएको छ ।

कार्यक्रममा माप्य दुधकोसी गाँउपालिका अध्यक्ष बुद्धिकिरण राईले गाँउपालिका गुणस्तरिय परिक्षा संचालनमा सफल भएको दाबी गरे । उत्कृष्टताको आधारमा पुरस्कृत गर्ने संस्कारले शैक्षिक गुणस्तर सुधारमा समेत टेवा पुग्ने अध्यक्ष राईको भनाई छ । गाउँपालिकाले लिएको परिक्षामा २ सय ५४ विद्यार्थी सहभागी बनेका थिए । ग्रेड सि र डी ल्याएका विद्यार्थीका लागि आगामी बैशाख १० गते ग्रेड बृद्धिको परिक्षा लिने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार