लोकदोहोरी गीतलाई डिजिटल बजार फापेको बर्ष

गीतमा लगानी बढेको बर्ष

  शिखर जंग श्रेष्ठ

२०७५ साल लोकदोहोरी गीतका लागि डिजिटल बजार फापेको बर्षको रुपमा लिन सकिन्छ । कमाईको स्रोत यूटुवमा लोक तथा दोहोरी गीतले खास स्पेस लिन नसकिरहेको अवस्थामा सबैभन्दा पहिले राजन गुरुङ र देवी घर्तिको स्वरमा रेकर्ड भएको गीत ‘उहि खोलीको पानी’ले रिलिज भएको एक बर्षपछि ७५ सालमै रेकर्ड कायम गरेको हो । उक्त मौलिक गीतले यूटुवमा एक करोड २२ लाख बढि भ्यूज पाएको छ ।

सर्वाधिक यूटव भ्यू पाएको सर्वप्रिय गीत हो, ‘सालको पातको टपरी’ । नवराज पन्तको गीत र बसन्त थापाको संगीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको गीत रिलिज भएको तिन महिनामा करोड क्लबमा प्रवेश पाएको थियो । हिमाल, पहाड, तराईमा एकलौटी गुन्जिरहेको उक्त गीतले यूटुवमा ४ करोड बढि भ्यूज पाएको छ । यो गीतले सृजना र लगानी अब्बल बनाउन सके डिजिटल बजारमा संभावना देखाउन सफल बन्यो ।

करोड क्लबमा प्रवेश गर्ने अर्को गीत हो, ‘बोल माया’ । परदेशीको कथा बोकेको मर्मस्पर्शी गीतले पनि करोड भ्यूज कमाएको छ । गायक प्रकाश सपुतको व्यक्तिगत च्यानलबाट अपलोड गरिएको गीतले मेहनतको फल चखाएको छ । अलि ढिलागरि करोड क्लब प्रवेश गरेको उक्त गीतले एक करोड ४ लाख बढि दर्शकको माया पाएको छ ।

डिजिटल बजारको आशा बढ्न थालेपछि शिव हमालको सृजनामा विष्णु माझी र सन्दिप न्यौपानेको स्वरमा रेकर्ड गीतले एक महिना करोड क्लब प्रवेश गर्ने अबसर पायो । सरल सृजना भएका कारणले पनि शुन्य सस्क्राईव भएको शिव हमालको च्यानलबाट अपलोड गरिएको गीतले अर्को रेकर्ड कायम गरेको छ । हमालको सृजनामा अर्को गीत ‘लाउछ माया’ले दर्शकको माया बटुलिरहेको छ ।

डिजिटल बजारमा हजार बढि लोक तथा दोहोरी गीत आएपनि औलामा गन्न सकिने केहि गीत संगीतले मात्र दर्शकको असिमित माया पाएको छ । बर्षको अन्तिम समयमा आएको ‘पिडालु’ले आशा जगाएको छ भने बसन्त थापाको ‘जाम सुस्तै’, विमलराज क्षेत्रीको ‘बुट्टै रुमाल’, धु्रव शर्माको ‘मलाई देखेर’, गणेश अधिकारीको ‘अभाव’, खुमन अधिकारी र मेलिना राईले गाएको ‘कोईली कराउने’, सम्झना भण्डारीको ‘औठी बेरुवाको’, दिनेश क्षेत्री र विष्णु माझीले गाएको ‘केसरी’ केहि सफल र आशालाग्दा गीतहरु हुन् ।

पशुपति शर्माको पछिल्लो सृजना ‘क्यार्न मया मारिचौ’ पनि लोक अब्बलता बोकेर बजारमा ल्याईएको छ भने ‘पान खायो मायाले’को सफलतापछि राजन कार्कीले ‘खोलीमा माछी’ डिजिटल बजारमा प्रस्तुत गरेका छन् । यहि बर्ष पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीत विवादित बन्यो । राजनितिक रुपमा विवाद बढ्न थालेपछि गायक शर्माले आधिकारिक भिडियो यूटुवबाट हटाए । गीत हटाएसंगै अझ हिट बन्यो । गीतलाई लिएर जनता सडकमा उत्रिएको विरलै मध्येको एक घटना पनि हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार