सोलुमा अवैध हातहतियार बुझाउनेको संख्या शुन्य

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख ८

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले अवैध हातहतियार बुझाउन पटक पटक सूचना जारी गरेपनि जिल्लाका कुनै व्यक्तिले बुझाएका छैनन् । जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका बाहेकका हतियार प्रयोग गर्न नपाउने व्यवस्था अनुसार अवैध हतियार बुझाउन सार्वजनिक सूचना जारी गरेपनि बुझाउनेको संख्या शुन्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय प्रशासनको सूचनालाई वेवास्ता गरि अवैध हातहतियार ग्रामिण भेगमा संचालन भईरहेका छन् । जस्को पछिल्लो प्रमाण काँकुमा बारुद भर्दै गर्दा पड्किएको बन्दुक घटनाले प्रष्ट पारेको छ । बैशाख १ गते माप्य दुधकोसी गाँउपालिका ४ डाडागाँउमा बारुद भर्ने क्रममा पड्केको बन्दुकले आफैलाई लागि सुमन राईको मृत्यु भएको थियो । नाम नबताउने सर्तमा माप्य दुधकोसी गाँउपालिकाका एक स्थानीयले लुकीछिपी भरुवा बन्दुक प्रयोग गर्नेहरु गाउँघरमा रहेको बताए ।

कतिपयले बाँदर, भालु लगायतका जंगली जनावर तर्साउनका लागि अवैध हातहतियार प्रयोग गर्दै आएका छन् । ती बाध्यताका बाबजुत पनि अवैध हातहतियार स्थानीय प्रशासनलाई ईमानदारीपुर्वक बुझाउन प्रहरी नायव उपरिक्षक शालिग्राम शर्मा पौडेलले आग्रह गरे । उनले कानुन विपरित अवैध हातहतियार संचालन गरेको पाएमा कानुन अनुसार कारबाही हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार