खुम्बुमा ४५ हजार पर्यटक

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख १३

चालु आर्थिक बर्षमा करिब ४५ हजार पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार पिक सिजन र आरोहण सिजनमा गरि ४४ हजार ४५० पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका हुन् । यो संख्या गएको साउन देखि चैतसम्मको तथ्यांक हो ।

वितेको ९ महिनामध्ये कात्तिक महिनामा सबैभन्दा बढि १२ हजार ८८६ जना पर्यटक खुम्बु क्षेत्र भित्रिएका छन्् । साउनमा ४ सय २६, भदौमा एक हजार ७६, असोजमा १२ हजार २५१, मंसिरमा ३ हजार ८१३ र पुसमा २ हजार १२५ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन् । आरोहण सिजन लागेपछि माघ महिनामा एक हजार दुई, फागुनमा २ हजार ८८१ र चैतमा ८ हजार पर्यटक खुम्बु क्षेत्र भित्रिएको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । अहिले आरोहण सिजन जारी रहेको छ ।

आर्थिक बर्ष २०७४–७५को साउन देखि चैतसम्म भित्रिएका पर्यटकको दाँजोमा चालु बर्षमा एक हजार ६८१ जनाले बढि हो । आरोहण सिजनमा भित्रिएका पर्यटकको संख्यालाई तुलना गर्दा चालु बर्षमा कम पर्यटक भित्रिएको तथ्यांकले देखाएको छ । आरोहण सिजनको माघ, फागुन र चैतसम्मको तथ्यांक अनुसार अघिल्लो बर्ष १४ हजार १ सय ३७ जना पर्यटक भित्रिएका थिए भने चालु आर्थिक बर्षको सिजनमा ११ हजार ८ सय ८३ जना पर्यटक भित्रिएका छन् ।

मौसम प्रतिकुलता र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको मर्मत हुनुले पनि आरोहण सिजनमा पर्यटकको आवागमन घट्नसक्ने अनुमान गरिएको छ । अहिले रामेछापको मन्थली विमानस्थलबाट तेन्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थलमा उडान हुदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार