फेरामा ‘गाउँघर क्लिनिक’को भवन उद्घाटन

नेपाल मेड जर्मनीको सहयोग

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख १४

सोलुदुधकुण्ड नगरपालिका २ फेरामा नेपाल मेड नेपाल गाउँघर क्लिनिकको भवन उद्घाटन गरिएको छ । नेपाल मेड जर्मनीको करिब ४५ लाखको लगानीमा नवनिर्मित ५ कोठे भवनको उद्घाटन नेपाली कांग्रेसका निर्वतमान जिल्ला सभापति आङगेलु शेर्पा, मेयर नाम्गेल जाङबु शेर्पा र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र जिल्ला अस्पताल फाप्लुका ईन्चार्ज डा. मिङमार छिरिङ शेर्पाले संयुक्त रुपमा गरेका हुन् ।

नेपाली काँग्रेसका नेता आङगेलु शेर्पाले फेरा क्षेत्रको बृहत्तर विकासका लागि धार्मिक पर्यटनमा जोड दिनुपर्ने बताए । उनले रिङमु देखि सहस्र बेनीसम्म मोटरबाटो पु¥याएपछि दुधकुण्ड पोखरीसम्म जान सहज हुने र धार्मिक पर्यटनको द्धार खुल्ने दाबी गरे । नगरपालिकाले दुधकुण्ड लक्षित सडक योजना बनाएकाले बार्षिक लाखौ धार्मिक पर्यटकको आवागमन संभव रहेको बताए । सडक मार्गबाट खुम्बुक्षेत्र प्रवेश गर्ने बाटो फेरा–रिङमु–नुनथला भएकाले पनि यस क्षेत्रमा पर्यटकलाई आकर्षण गर्ने पुर्वाधार, परिकार र सांस्कारिक बानीको आवश्यकतामा नेता शेर्पाको जोड थियो ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले स्वास्थ्य सेवा प्रवाहमा संवेदनशील बनेको बताए । ७० बर्ष माथीका जेष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य परिक्षण, हरेक वडामा भिडियो एक्सरे सहितको शिविर, जिल्ला अस्पतालको स्तरउन्नती लगायतका कामले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकता राखेको प्रष्ट हुने शेर्पाको भनाई छ । उनले एसियाली विकास बैँक (एडिबि)को सहयोग किट भविष्यमै ५० किलोमिटर सडक पिच हुने, विभिन्न खोलामाथी निर्माणाधिन पुल र टोलटोलमा सडकको पहूँच पु¥याउनुले नगरपालिका विकासमा अग्रपंत्तिमा रहेको दाबी समेत गरे । मेयर शेर्पाले गाउँघर क्लिनिक संचालनका लागि जनशक्ति र औषधि व्यवस्थापनमा प्रतिबद्ध रहेको बताए ।

उद्घाटन कार्यक्रममा नेपाल मेड जर्मनीका बोर्ड मेम्बर डा. ब्रिगेड क्रिस, नेपाल मेड नेपालका प्रोजेक्ट म्यानेजर दावा शेर्पा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, शिक्षा शाखा प्रमुख मेघनाथ शर्मा, जिल्ला अस्पताल फाप्लुका ईन्चार्ज डा. मिङमार छिरिङ शेर्पा, वडा नं १ का वडाअध्यक्ष छाङबा लामा, वडा नं ३ का वडाअध्यक्ष गोपाल मगर, नगर प्रवक्ता शारदामाया तामाङ, कार्यपालिका सदस्य गान्धिमाया तामाङ लगायतको उपस्थिती रहेको थियो । क्लिनिक व्यवस्थापन समितिका अध्यक्ष सुङवा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाता काजी शेर्पा र काण्डी शेर्पा, आर्थिक सहयोगी संस्था नेपाल मेड जर्मनीलाई सम्मान गरिएको छ ।

गाउँघर क्लिनिकबाट दन्त सेवा समेत दिईनेछ । भवनको ५ कोठालाई ओपिडि, वेयटिङ, डेण्टल, स्टाफ र किचनको रुपमा प्रयोग गरिएको छ । विरामीलाई स्वच्छ पिउनेपानीको उपलब्ध गराउने हेतुले जर्मनी प्रविधिको एक हजार लिटरको फिल्टर समेत प्रयोगमा ल्याएको वडा अध्यक्ष मिङमार दोर्जी शेर्पाले बताए । उक्त क्लिनिकबाट वडाको फेरा, रिङमु, चिवाङ र जबमुकका नागरिक लाभान्वित हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार