सोलुखुम्बु सेवा समाज, दक्षिण कोरियाको ‘एम्बुलेन्स’ सहयोग

मेयर शेर्पा भन्छन्, जिल्लाभरका नागरिकलाई सेवा दिन्छौ ।

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख १४

सोलुदुधकुण्ड नगरपालिकालाई ‘एम्बुलेन्स’ प्राप्त भएको छ । सोलुखुम्बु सेवा समाज, दक्षिण कोरियाको सहयोगमा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नगरपालिकाको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा सोलुखुम्बु विकास समाजका संस्थापक अध्यक्ष उत्तम गुरुङले मेयर नाम्गेलजाङबु शेर्पालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।

मेयर शेर्पाले एम्बुलेन्सले जिल्लाबासीकै लागि सरल सेवा प्रवाह गर्ने वातावरण तयार पार्ने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाले मर्मत र चालकको खर्च व्यवस्थापन गर्ने मेयर शेर्पाको भनाई छ । उनले भने, ‘जिल्ला अस्पताल र जिल्ला रेडक्रस सोसाईटीले संचालन गरेको एम्बुलेन्सको जस्तो हविगत हुदैन् । तपाईहरु ढुक्क हुनुस् । नगरबासीलाई मात्र होईन। आवश्यक परेको खण्डमा जिल्लाभरका नागरिकलाई सेवा दिन्छौ ।’ मेयर शेर्पा आफैँले एम्बुलेन्स चलाएर उद्घाटन समेत गरे ।

राजस्व छुट सहित करिब १० लाख ५० हजारमा खरिद गरिएको एम्बुलेन्स जिल्लाबासीलाई सहज होस् भन्ने हेतुले प्रदान गरिएको समाजका निर्वतमान अध्यक्ष टिआर खालिङले बताए । संस्थापक अध्यक्ष उत्तम गुरुङले सोलुखुम्बुबाट रोजगारीका शिलशिलामा दक्षिण कोरिया पुगेकाहरुको सामाजिक भावले एम्बुलेन्स खरिद गरिएकाले दिगो संचालनका आग्रह गरे ।

हस्तान्तरण कार्यक्रममा सोलुखुम्बु सेवा समाज, दक्षिण कोरियाका सल्लाहकारद्धय नन्द गुरुङ र नन्द बस्नेत, निर्वतमान सचिब गणेश राई, सोलुदुधकुण्ड नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको सहभागीता रहेको थियो ।

दिगो संचालनमा समस्या

यसअघि जिल्ला अस्पताल फाप्लु र जिल्ला रेडक्रस सोसाईटीले संचालन गरेको एम्बुलेन्सले प्रभावकारी सेवा दिन सकेन् । मर्मतका लागि स्रोतको अभाव हुनु र एम्बुलेन्स सेवाबाट आर्जन रकमले व्यवस्थापनमा समस्या हुनाले पनि ति एम्बुलेन्स सडक छेउमा थन्किएका छन् ।

नेले विकास समाजले नेलेबाट संचालन शुरु गरेको एम्बुलेन्स दिगोपना समस्या भएपछि थुलुङ दुधकोशी गाउँपालिका १ को कार्यालयलाई जिम्मा लगाईएको छ । चालकको बदमासीका कारण उक्त एम्बुलेन्स संचालनमा समस्या रहेको छ ।

नगर क्षेत्रमै ३ एम्बुलेन्स

सोलुदुधकुण्ड नगरपालिकामा एम्बुलेन्सको संख्या ३ पुगेको छ । अघिल्लो बर्ष ए सामाजिक संस्थाबाट प्राप्त एम्बुलेन्स केरुङ क्षेत्रबाट संचालनमा छ । केहि हप्ता अघि मात्र कुशुदेवु पब्लिक हेल्थ मिसनबाट वडा नं २ बेनीलाई सहयोग प्राप्त भएको छ । जुन, स्वास्थ्य चौकी जुनबेशीको मातहतबाट संचालन शुरु गरिएको छ ।

शनिबार सोलुखुम्बु सेवा समाज, दक्षिण कोरियाले नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेपछि नगरमा एम्बुलेन्सको संख्या ३ पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार