फुलेलीका ९० घरमा पानीको धारा

पानी पिएर उद्घाटन

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २२

सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका सर्वसाधारणले स्वच्छ पिउनेपानी प्रयोग गर्न पाए । वडा कार्यालयको समन्वयमा मनभिसो नेपाल फाउण्डेशनले खानेपानीको आयोजना सम्पन्न गरेपछि टाक्सिन्दु फुलेलीका ९० परिवारले सुरक्षित पिउनेपानी प्रयोग गर्न पाएका हुन् ।

फाउण्डेशनको आर्थिक सहयोग र जनश्रमदान गरि करिब ४५ लाखको लागतमा निर्माण सम्पन्न भएको खानेपानी शनिबार मेयर नाम्गेल जांङबु शेर्पा र प्ले फर नेपाल फ्रान्सका प्रतिनिधि आलिभर ग्यान्जरले संयुक्त रुपमा रिवन काटेर र धाराको पानी पिएर उद्घाटन गरेका हुन् । उद्घाटनपछि बोल्दै मेयर शेर्पाले नगरको विकासमा सहयोग गरेकोमा मोनभिसो नेपाल फाउण्डेशनलाई धन्यवाद दिए । उनले पानीको पहुँच पुगेपछि कृषिमा संभावना देखिएकाले आगामी बर्ष कृषिका विविध योजना संचालनका लागि बजेट विनियोजन गर्ने आश्वासन दिए ।

वडाअध्यक्ष छोङबा लामाले वडाको आगामी दिनमा पनि सामुदायीक विकासमा हातेमालोको अपेक्षा राखे । होर्सिङगा मुहानबाट ल्याईएको पानी व्यवस्थित हुनुपुर्व फुलेलीका नागरिकले खोलाको पानी बोकेर प्रयोग गर्दै आएका थिए । घरघरमा पानीको पहूँच पुगेपछि चर्पीको प्रयोग, सरसफाई र कृषि उत्पादनमा सहयोग पुग्ने सर्वसाधारणले प्रतिक्रिया दिएका छन् ।

खानेपानी उद्घाटन कार्यक्रममा भुमेस्थान सामुदायीक संस्थाका अध्यक्ष चतुरमान खालिङको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

दिगोपनाको लागि अक्षयकोष

खानेपानी परियोजनाको दिगोपनाको लागि एक लाख रकमको अक्षयकोष स्थापना गरिएको छ ।

मनभिसो नेपाल फाउण्डेशनका कोषाध्यक्ष ल्हाक्पा तेम्बा शेर्पा र प्याराग्लाईडिङ खेलका राष्ट्रिय खेलाडी तेम्बा लामाले एक लाख अक्षय कोषका लागि सहयोग गरेको वडासदस्य उत्रमान राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार