सोलुमा अझै पोष्टमार्टमकै सास्ती

हेलिकप्टर चार्टर गर्न बाध्य

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २३

गाउँगाउँमा सरकार, टोलटोलमा ग्रामिण सडक पुगपनि सोलुखुम्बुका नागरिकले अझै पनि पोष्टमार्टमका लागि सास्ती खेप्नु परेको छ । जिल्ला अस्पताल फाप्लुमा मात्र पोष्टमार्टम हुने भएकाले शवलाई लाखौ तिरेर हेलिकप्टरमार्फत राजधानी सम्म लैजानुपर्ने बाध्यता रही आएको छ ।

आत्महत्या सहित शंकास्पद मृत्यूपछि पोष्टमार्टम अनिवार्य हुनु र जिल्लाभर जिल्ला अस्पताल फाप्लुमा मात्र पोष्टमार्टम सेवा संचालनमा रहेकाले दुर्गम भेगका नागरिकले पोष्टमार्टमका लागि सास्ती खेप्नुपरेको हो । सोलुखुम्बुको सोताङ र महाकुलुङ गाउँपालिका, डाँडापारिको गाउँपालिका लिखुपिके र खुम्बु क्षेत्रका नागरिकले पोष्टमार्टमका लागि लाखौ खर्चनुपर्ने बाध्यता रहेको छ ।

शवको पोष्टमार्टम अनिवार्य हुनुले प्रहरीलाई पनि सास्ती खेप्नुपरेको छ । प्रहरी निरिक्षक उत्तम कार्कीले घण्टौ समय शवलाई बोकेर यातायात सञ्चालित क्षेत्रमा ल्याउनु पर्ने भएकाले समस्या भएको बताए । स्थानीय तहले नागरिककै सेवाका लागि पोष्टमार्टम गृह निर्माणका लागि पहल गर्नुपर्नेमा उनको जोड छ ।
खुम्बुमा पोष्टमार्टम सेवा नहुदा हेलिकप्टर चार्टर गरि राजधानी र लिखुपिके गाउँपालिकाका नागरिकले सल्लेरी भन्दा नजिक र सहज पर्ने भएपछि रामेछाप र सिन्धुली शव पोष्टमार्टमका लागि लैजान्छन् । खुम्बु क्षेत्रमा पोष्टमार्टम सेवा संचालनका लागि खुम्बुपासाङल्हामु गाउँपालिकाले छलफल अघि बढाएको बताएको छ । गाउँपालिका अध्यक्ष ङिमदोर्जि शेर्पाले भने, ‘निकोलनिक्की हस्पिटलसंगको सहकार्यमा पोष्टमार्टम शुरु गर्ने की भन्ने विषयमा छलफल शुरु भएको छ । हामीले नागरिकको समस्या बुझेका छौ ।’

सोताङ र महाकुलुङ गाउँपालिकाका नागरिकले हजारौ खर्च गरि सल्लेरी ल्याउछन् भने थुलुङ दुधकोशी गाउँपालिकाको क्षेत्रको जुबु र लोखिमका नागरिकले शवलाई दुई दिन लगाएर बोकेर सल्लेरी र सवारी साधन मार्फत खोटाङको दित्तेल लैजादै आएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा पोष्टमार्टम गृहका लागि भवन निर्माण गरिएपनि गुणस्तरहिन भएको भन्दै व्यवस्थापनले लिन मानिरहेको छैन् भने प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा पोष्टमार्टम गृह निर्माणको लागि पुर्वाधार निर्माण कार्यक्रमबाट ५ लाख बजेट विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार