थुलुङ भाषा (कक्षा २)को पाठ्यपुस्तक लोकार्पण

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २५

थुलुङ राई भाषा कक्षा २ को पाठ्यपुस्तक लोकार्पण गरिएको छ । थुलुङ राई संस्कृति प्रतिष्ठानको आयोजनामा थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिममा आयोजित कार्यक्रममा पाठ्यपुस्तकको लोकार्पण गरिएको हो । गाउँपालिका अध्यक्ष असिम राईले पाठ्यपुस्तकको लोकार्पण गरेका हुन् ।

अध्यक्ष राईले कक्षा २ सम्मको पठनपाठनका लागि कम्तीमा पनि ३ जना मातृभाषिक शिक्षकको व्यवस्थापन गर्ने बताए । थुलुङ भाषाको पठनपाठनले बालबालिकामा मातृ भाषा सिकाईमा थप टेवा पुग्ने भएकाले माथिल्लो कक्षाको पाठ्यक्रम निर्माणमा पनि गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष राईले प्रतिबद्धता जनाए । गाउँपालिकाले चालु आर्थिक बर्षको बजेटबाट पाठ्यक्रम निर्माणको लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

पाठ्यपुस्तक लोकार्पण कार्यक्रममा खोटाङको रावावेशी गाउँपालिका उपाध्यक्ष समला राईले थुलुङ राईहरुको बसोबास रहेका क्षेत्रका विद्यालयमा थुलुङ भाषाको पाठ्यक्रम लागु गर्ने प्रतिबद्धता जनाईन् । मातृ भाषाको पाठ्यक्रम निर्माणले लोपन्मुख भाषा र संस्कृतिको जर्गेनामा समेत टेवा पुग्ने उपाध्यक्ष राईको भनाई छ ।

थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष निर्कुधन राईले कक्षागत पाठ्यक्रम निर्माण गर्दै जाने लक्ष्य लिएको बताए । उनले मातृभाषा र संस्कृति समाबेश पुस्तक तयार पार्नका लागि व्यक्ति तथा संस्थाले हातेमालो गरेकाले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।

थुलुङ राई संस्कृति प्रतिष्ठानले कक्षा १ सम्मको पाठ्यक्रम तयार पारि थुलुङ राईहरुको बसोबास रहेको क्षेत्रका विद्यालयमा पठनपाठन शुरु गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार